Logo

एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी घोषणा गर्दै आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताए ।

कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो वाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरूलाई समेट्ने योजना समेटिएको बताए ।

उनले आफ्नो चुनावी वाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पूरा गर्न लागिपर्ने पनि बताए । ‘मेरो वाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्ने मात्रै हो,’ उनले भने, ‘सबै साथी सकारात्मक पनि हुनुहुन्छ ।’ उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरू आइसकेको भन्दै पूरै टिमले चुनाव जित्ने विश्वास व्यक्त गरे ।

शर्माले आरएनएको पवित्र उद्देश्य पूरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन नहुनेप्रति सचेत रहेको बताए । राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले काय गर्दै आएको पनि सो क्रममा शर्माले बताए । २४ महिनामा २४ वटा काम गर्ने वाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरूबीचको एकता भएको बताए ।

यस्तै, अर्का युवा एनआरएनए अभियन्ता रोबोट लिम्बुले युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी घोषणा गर्दै युवा पुस्तालाई यो अभियानमा जोड्ने, नेपालसँग अविच्छिन्न साइनो कायम गर्ने, वंशजको नागरिकताको निरन्तरता मात्र एक विकल्प बनाउने बताए । उनले नागरिकताको निरन्तरताका लागि निरन्तर पहलकदमी तथा अभियान बुलन्द गर्ने र एनआरएन अभियन्ताको विश्वास मायालाई आत्मसात् गर्दै आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्था तथा पदले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्