स्थानीय महलाई बजार अभाव

दाङ– स्थानीय महले बजार नपाएपछि दाङमा मह बिक्रीमा समस्या देखिएको छ । बजार अभावले आफैले उत्पादन गरेको मह माहुरीलाई खुवाउन मह उत्पादक किसान बाध्य छन् । घोराही उप महानगरपालिका वडा नंं १८ निवासी दिनेश वली मह बिक्री नभएपछि त्यही मह माहुरीलाई खुवाइ रहेको बताउँछन् । अहिले पनि उनीसँग ४ क्विन्टल मह रहेको छ । उनले अहिले ८० घार माहुरी पालन गरेका छन् ।
वर्षाभन्दा पहिले १ सय घार बढी भए पनि वर्षातको समयमा घटेर ८० घार भएको उनले बताए । ‘यो वर्षको मह काडने समय आउन थालेको छ, तर अघिल्लो वर्षको मह बिक्री हुन सकेको छैन्’ वलीले भने । गत मंसिर महिनामा काडेको महसमेत बिक्री नभएको उनी बताउँछन् । मह बिक्री नहुँदा खर्च धान्न समेत समस्या भएको उनले बताए । ‘मह बिक्री गरेर आम्दानी होला भन्ने समयमा मह नै बिक्री नहुदा धेरै समस्या भएको छ’ वलीले भने ।
अघिल्ला वर्षहरूमा यस प्रकारको समस्या भोग्नु नपरेको उनी बताउँछन् । ‘पहिले घरबाटै सबै मह बिक्री हुने गरेको थियो, अहिले भने बिक्री हुन सकेको छैन’ वलीले भने । कृषकको मह बिक्री नहुँदासमेत कतैबाट पनि मह बिक्रीको लागि प्रयास हुन नसकेको उनले बताए । आफू मात्र नभइ धेरै कृषकहरूमा यस्तो समस्या रहेको उनको भनाइ छ ।
जिल्लामा अहिले पनि बिक्री नभएर ४ सय क्विन्टल मह डम्प रहेको माहुरी पालक कृषक भिमकान्त देवकोटाले बताए । धेरै निकायसँग मह बिक्री नभएको समस्या जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनको भनाइ छ । काठमाडौं र देशका अन्य सहरमा नक्कली मह बरामद भएको सूचना आएसँगै जिल्लामा उत्पादन भएको शुद्ध महले बजार नपाएको कृषक देवकोटाले बताए । ‘जिल्लाका कृषकले मह उत्पादन गर्नु हुन्छ । मह बिक्री नभएर थन्किएको छ’ उनले भने । ‘अब महको ब्राण्डिङ र बजारीकरण गर्न आवश्यक छ, यसका लागि राज्यले सहयोग गर्नु पर्छ ।’
जिल्लामा करिब १८ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ बताउँछन् । धेरै मेलीफेरा जातको माहुरीको घार रहेको उनले बताए । जिल्लामा वार्षिक ६ सय टनभन्दा बढी मह उत्पादन हुने गरेको महासंघको भनाइ छ । जिल्लामा करिब १ हजार माहुरी पालन कृषकहरू रहेका छन् । व्यवसायिक रूपमा ५० घारभन्दा बढी माहुरी पालन गर्ने कृषकहरूको संख्या ५ सयभन्दा बढी रहेको महासंघका अध्यक्ष श्रेष्ठले बताए । भारतको मह सहज रुपमा भित्रिनु, नक्कली मह पक्राउ गरेपछि मह बिक्रीमा कमी आएको उनी बताउँछन् ।
त्यसै गरेर पछिल्लो समय आर्थिक मन्दीका कारण नागरिकको आयस्रोत घटेको कारणले पनि महको खपत कम भएको छ । ‘शुद्ध महको बारेमा प्रचार–प्रसार समेत हुन सकेको छैन’ अध्यक्ष श्रेष्ठले भने । पछिल्लो समय माहुरीपालन गर्ने कृषकहरूका संख्या बढ्दै गएको उनको भनाइ छ । पछिल्लो समयमा माहुरी पालन व्यवसायमा समस्या वढ्दै गएको उनी बताउँछन् । माहुरी चरणका लागि सामुदायिक वन, क्लबहरूले समेत रकम लिने गरेको छन् । जसले उत्पादन मूल्यसमेत बढने गरेको माहुरी पालक कृषकहरू बताउँछन् ।
दाङ जिल्ला माहुरी पालनको लागि उर्भर जिल्लाको रूपमा रहेको छ । वनमा चिउरी विरुवा र तोरीको खेती गरिने भएकाले माहुरी चरणका लागि सहज हुने गरेको किसानहरू बताउँछन् । माहुरी चरणका लागि जिल्ला बाहिरबाटसमेत ल्याउने गरेका छन् । जिल्लामा उत्पादन भएको मह विदेशमासमेत माग बढी रहेको माहुरी पालक कृषकहरू बताउँछन् । दाङमा उत्पादित मह अन्य मुलुकहरूमा समेत जाने गरेको छ ।
दाङको मह देशको पुर्वदेखि पश्चिमसम्म जाने गरेकोमा अहिले भने त्यस्तो अवस्था छैन् । माहुरी पालन व्यवसायलाई अगाडि वढाउनका लागि राज्यको तर्फबाट पनि माहुरीमा विभिन्न प्रकारका कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । माहुरी पालक कृषकहरूलाई तालिम तथा अनुदान सरकारी तथा गैर सरकारी निकायबाट प्रदान गरिदै आएको छ ।