Logo

कानुन निर्माणमा ढिलाइले संघीयता कार्यान्वयन जटिलः मुख्यमन्त्री शाही

भक्तपुर-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघियतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि संघीय कानुनले पूर्णता पाउन नसक्दा संवैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकार बीच दूरी बढेको बताए ।
देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु हाल असहज अवस्था श्रृजना गरी देश विकास र समृद्धि रोक्दै राष्ट्रियता माथि चुनौति खडा गर्न लागिपरेको शाहीको भनाइ छ ।
राज्यका तीन सरकारबीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ चेपिहाल्ने र धकेलिहाल्ने प्रवृत्तिकै कारण संघीयता कार्यान्वयनमा जटिलता देखिएको उनको टिप्पणी छ ।
उनले कर प्राणालीका बारे संविधानमै उल्लेख भएको भन्दै एकल कर र साझा करका बारे सोच अनुरुप व्यवहारमा तीनै तहका सरकारबीच देखिएको केही समस्याका कारण जनआवाज उठे पनि करकै कारण संविधान कार्यान्वयनमा खासै प्रभाव नपर्ने बताए । विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध उसको गतिविधि अनुसार ठिक भएको बताउँदै विगतको एकात्मक सोचका समयमा पड्किएका बम र बन्दुकको अर्थ रहे पनि हाल देश संघियतामा प्रवेश भएकाले गलत रहेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्