Logo

६० करोड मानिस कुपोषणमा पर्ने आँकलन

काठमाडौं– जलवायु परिवर्तनले कृषि उत्पादनमा उत्पन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषणमा पर्ने आकलन गरिएको छ । जसले भोकमरी उन्मूलनका लागि दिगो विकास लक्ष्य हासिल गर्ने ठूलो चुनौती देखिएको कृषि विभागले जनाएको छ ।

बिहीबार हुन लागेको ४३औं विश्व खाद्य दिवसको बारेमा जानकारी गराउँदै विभागले २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको हो । विभागका अनुसार १५ औँ आवधिक योजनाले नेपालमा २१ प्रतिशत जनसंख्या अझैं पनि पर्याप्त खाद्यान्नमा पहुँच नभएको उल्लेख गरेको छ ।

सन् २०२२ को संयुक्त राष्ट्र संघको ‘वल्र्ड वाटर डे’ अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिस अझै पनि सुरक्षित पानीको पहुँचबाट वञ्चित रहेको अनुमान गरिएको छ । यो वर्षको विश्व खाद्य दिवसको मूल नारा ‘जीवन र खाद्यको आधार पानी हो,’ विभागले जनाएको छ । विश्व खाद्य तथा कृषि संगठन एफएओको मूल नारामा रही नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि विभागले यही असोज २५ मा भव्य रूपमा खाद्य दिवस मनाउने तयारी गरेको छ ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरूलाई प्रवद्र्वन गर्न सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्नु यस दिवसको मूल्य उद्देश्य रहने विभागले जनाएको छ । राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण, २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ ।

त्यसैगरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गमध्ये सिँचाइ सुविधा भएको जग्गाको क्षेत्रफल ५४.४ प्रतिशत मात्र रहेको विभागको भनाइ छ । ४३ औं विश्व खाद्य दिवसको अवसरमा एफएओले जारी गरेका प्रचारात्मक सामग्री प्रकाशन तथा प्रदेश तथा स्थानीय तहहरूमा वितरण गर्ने, कृषि तथा खाद्य सुरक्षाका लागि नारामा आधारित लेख रचना प्रतियोगिता, पोष्टर–पेन्टिङ, रेडियो तथा टेलिभिजन संवाद कार्यक्रम, प्रभातफेरि कार्यक्रम र उत्कृष्ट ९ विधामा काम गर्ने कृषकलाई सम्मान गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्