खर्च बढ्यो, आम्दानी बढेन

उदयपुर– गत वर्षसम्म मासिक १० हजार रुपैयाँले सम्पूर्ण घरखर्च टार्ने त्रियुगा नगरपालिका–९ गहिरुनका मिश्रीलाल सदालाई हिँजोआज त्यति पैसाले पुग्दैन ।
चामल, तरकारी, तेल, मसला, माछामासुलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेका कारण उनलाई त्यति पैसाले महिना धान्न नपुगेको हो । घर खर्चको रकम बढे पनि उनको आम्दानी भने बढेको छैन । दैनिक ज्याला मजदुरीको काम गर्ने उनले एक महिनामा १५ दिन पनि काम पाउन छाडेका छन् ।
सदरमुकाम गाईघाट तथा कटारी, बेल्टार, मुर्कुचीलगायतका व्यापारिक बजारमा दैनिकजसो उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदै आएको छ । एक पटक बढेको सामानको मूल्य कहिल्यै नघट्नाले उनीजस्ता सर्वसाधारण समस्यामा परेका छन् । ‘बजारमा सामान किनिसक्नु छैन, कतिपय व्यापारीले सामानको मूल्य आफूखुसी बढाउँछन्,’ मिश्रीलालले भने, ‘दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने मजस्तालाई समस्या भयो ।’ तर, पहिले बढेको कुनै सामानको मूल्य घटे पनि व्यापारीले घटेको मूल्य कहिल्यै कायम नगर्ने उनले बताए ।
‘दैनिक ज्याला मजदुरी र खेतबारीमा काम गर्ने मजदुरको ज्याला जतिको तत्ति नै छ,’ त्रियुगा–१३ का मानबहादुर मगरले भने, ‘भनेको बेलामा कामसमेत पाइँदैन ।’ बजारमा तरकारी, मासु, दाल र चामलमा प्रतिकिलो पाँचदेखि ५० रुपैयाँसम्म मूल्य बढेको उनले बताए । ‘सोचेअनुसारको मूल्यमा तरकारी, चामल, दाल, तेलजस्ता उपभोग्य सामग्री नपाउँदा समस्या खेप्नु परेको छ,’ उनले भने, ‘मूल्य बढेकाले न्यून आम्दानी हुनेले दाल, भात र तरकारी खान एकपटक सोच्नै पर्ने भएको छ ।’ मूल्यवृद्धिका कारण दैनिक सरदर पाँच सय रुपैयाँ आम्दानी गर्ने मजदुरलाई चारजनाको परिवार पाल्न धौधौ हुँदै गएको उनको भनाइ छ ।
‘पहिलेको जस्तो समय छैन, पसलेले उधारो र बाँकी कुनै सामान दिन छाडिसके,’ त्रियुगा–१२ की चन्द्रावती चौधरी भन्छिन्, ‘दैनिक कमाइ त्यही दिनलाई खानमै ठिक्क हुन्छ ।’ महँगी बढे पनि आम्दानी नबढेकाले दैनिक घर खर्च धान्नै कठिनाइ हुने उनले सुनाइन् ।
‘विगत एक वर्षयता दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेर गएको छ,’ उपभोक्ताको हितमा लामो समयदेखि काम गर्दै आएका स्थानीय बद्री काफ्लेले भने, ‘मूल्यवृद्धिसँगै बजारमा आर्थिक चहलपहल पनि हराउँदै गएको छ ।’ महँगी बढेपछि व्यापार ठप्प हुँदा कतिपय व्यापारीसमेत व्यवसायबाट पलायन हुन थालेको उनले बताए । ‘मूल्यवृद्धिका कारण आमसर्वसाधारण बढी पीडित भएका छन् भने साना व्यापारी र व्यवसायीलाई समेत मार परेको छ,’ उनले भने ।
बजार मूल्य अब पहिलेको अवस्थामा फर्कन सक्ने कुनै सम्भावना नरहेको सर्वसाधारण बताउँछन् । गाईघाट बजारसँगै मुख्य व्यापारिक केन्द्र बेल्टार, कटारी र मुर्कुचीमा पनि तेल, साबुन, बिस्कृट, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुको आफूखुसी मूल्य तोक्ने गरिएको गुनासो स्थानीयले गरेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि आम्दानी बढ्न नसकेकोले घरपरिवार धान्न समस्या हुन थालेको मजदुर तथा सर्वसाधारणको भनाइ छ ।