वालिङमा आधुनिक बसपार्क बन्दै

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माणका लागि वालिङ नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगरपालिका प्रमुख कृष्ण खाँणबीच ऋण सम्झौतामा भएको हो । नगर विकास कोषसँग आयोजनाको कुल अनुमानित लागतको १२ करोड २७ लाख पैयाँको ५५ प्रतिशतले हुन आउने ६ करोड ७५ लाख रुपैयाँ ऋण र १० प्रतिशतले हुने एक करोड २२ लाख रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैगरी कुल अनुमानित लागतको ३५ प्रतिशत बराबरले हुन आउने रकम चार करोड २९ लाख ६४ हजार रुपैयाँ वालिङ नगरपालिकाले गर्ने भएको छ । वालिङ नगरपालिकाको वडा ८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारी साधनको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाको रूपमा मानिएको छ ।
उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका नगरप्रमुख खाँणले बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय रूरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।
नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो । नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटोलगायत सम्पूर्ण निर्माणका लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।
यसको लागि सहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ । निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारीसाधन पार्किङ गर्न सकिने छ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधन प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिने नगर उप–प्रमुख कविता तिवारीले जानकारी दिइन् ।
त्यसैगरी लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बस प्रतिघण्टा आठवटा, प्रतिघण्टा दुई पाङ्ग्रे १० वटा, निजी सवारी कार २० वटा अटाउन सक्ने क्षमताको रहने नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणका लागि यसै आर्थिक वर्षमा टेण्डर हुनेछ । बसपार्क सञ्चालनमा आएपछि वालिङ नगरपालिकाको बजार अस्तव्यस्तको समस्या हल हुने अपेक्षा गरिएको छ ।