अपि हिमाल भ्रमण वर्ष सुरु

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो ।
विश्व पर्यटन दिवसका अवसरमा अपि बेस क्याम्पमा अपि हिमाल भ्रमण वर्ष उद्घाटन गरिएको हो । कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालगायतका जनप्रतिनिधि, मन्त्रालय र गाउँपालिकाका कर्मचारी, पर्यटन व्यवसायी र आन्तरिक पर्यटक तीन दिनको यात्रा गरी अपि हिमालको बेसमा पुगेका थिए ।
भ्रमण वर्षमा पर्यटक ल्याउन समन्वय गरिरहेको नाट्टा सुदूरपश्चिमको टोलीसमेत अपि हिमाल बेस क्याम्प पुगेको थियो । नाट्टाका प्रदेश अध्यक्ष पदमविक्रम सिंहले भ्रमण वर्षमा १० हजार पर्यटकलाई अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गराउने लक्ष्य रहेको बताए । उनले अपि हिमालको बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आन्तरिक पर्यटक, भारतलगायतका देशका नागरिकहरूलाई आह्वान गरिएको बताए ।
अपि हिमाल आरोहण खुलाई प्रदेशकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आधारभूत पर्यटन संरचनानिर्माण भइसकेको छ । गाउँपालिकाका अध्यक्ष बोहराले हिमालको बेस क्याम्प भ्रमण गर्ने पर्यटन संस्कृति विकसित भएकाले तत्काललाई अपि हिमालको वेस क्याम्प भ्रमण गर्ने व्यवस्था मिलाइएको बताए ।
२०७९ मा अपि हिमाल भ्रमण सप्ताह मनाएको गाउँपालिकाले सफलता प्राप्त गरेपछि देश–विदेशबाट पर्यटक ल्याउन भ्रमण वर्ष आयोजना गरेको अध्यक्ष बोहराले बताए । घुसादेखि अपि हिमाल बेस क्याम्पसम्म ३० किलोमिटर पदमार्ग निर्माण गरिएको छ । उनले पदयात्रा सुरु गर्नुपर्ने मकरी गाड बजारमा पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालन गरिएको बताए । पदमार्गमा ठाउँ–ठाउँमा चिह्नसहितका सूचना पाटीसमेत राखिएको बताए । उनले पदमार्गमा पर्यटक रेस्ट सेन्टर र सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको बताए ।