वैदेशिक रोजगारीमा जानेलाई परामर्श

महेन्द्रनगर– भीमदत्त नगरपालिकाले नगरपालिकाबाट वैदेशिक रोजगारमा जान चाहने व्यक्तिका लागि हेल्प डेस्क राख्ने भएको छ । नगरपालिका कार्यालयभित्र राखिने हेल्प डेस्क केही महिनाभित्र सञ्चालनमा आउने गरी तयारी गरिएको छ । नगरपालिकाले हेल्प डेस्क सञ्चालनका लागि यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । गत आर्थिक वर्षमा भीमदत्तले नगरपालिकाबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो ।
भीमदत्त नगरपालिकाका उपमेयर निमल लेखक जोशीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई परामर्शका लागि हेल्प डेस्क सञ्चालन गर्न लागिएको बताइन् । उनले भनिन्, ‘अहिले नगरपालिकाबाट श्रम स्वीकृति दिइरहेका छौं, नगरपालिकाबाट श्रम स्वीकृति लिएर विदेश जाने सबैलाई आवश्यक परामर्श र सल्लाह–सुझावका लागि हेल्प डेस्क राख्ने तयारीमा छाैं, वैदेशिक रोजगारीमा जाने व्यक्तिले आवश्यक जानकारी नपाउँदा समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले त्यस्ता समस्या झेल्नुपर्ने बाध्यता छ ।’
हेल्प डेस्कका लागि दुई जना कर्मचारी चाहिने र कार्यालय प्रमुख आएपछि सञ्चालन प्रक्रियामा जाने उपमेयर जोशीले बताइन् । भीमदत्तको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिसम्बन्धी सबै कामकाज गर्दै आएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–८, तिलाचौरका भवानसिंह भण्डारी र भीमनपा–९ ब्रह्मदेवका आनन्दसिंह रावतले श्रम स्वीकृति सुरु गरिएको दिन श्रम स्वीकृति लिएका थिए । उपमेयर जोशीले श्रम स्वीकृति कार्यक्रमको औपचारिक सुरुवात गरेकी थिइन् ।
उनले विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो, तैपनि समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उनले बताइन् । सरकारले श्रमस्वीकृति स्थानीय तहबाट प्रदान गर्न सकिने प्रावधान ल्याएपछि पालिकाले काम अघि बढाएको जोशीले बताइन् ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गत चैतमा वैदेशिक रोजगारीमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन पाउने निर्णय गरेको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान समेत रहेको छ ।