Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा न्यून आकर्षण

दाङ– प्रधानमन्त्री रोजगार कार्यक्रममा आम नागरिकको आकर्षण घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १ हजार १ सय ९८ जनाले रोजगारी प्राप्त गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा सार्वजनिक गरिएको तथ्यांकले उक्त कुरा देखाएको हो ।

जिल्लामा १० स्थानीय तह रहेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १ हजार ६ सय २६ जनाले रोजगारी प्राप्त गरेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा २ हजार १ सय ६५ जनाले रोजगारी प्राप्त गरेका छन् । सरकारले प्राथमिकता दिएर सञ्चालन गरेको यस प्रकारको कार्यक्रममा रोजगारी पाउनेको संख्या न्यून छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो । बेरोजगारलाई रोजगारी दिने उद्देश्यले यस प्रकारको कार्यक्रम ल्याइएको हो । सुरुका वर्षमा यसतर्फ नागरिकको आकर्षण भए पनि पछिल्ला वर्षमा नागरिकको आकर्षण घट्दो क्रममा रहेको छ । यसअन्तर्गत बेरोजगारलाइ सय दिनको रोजगारी प्रदान गर्ने गरिन्छ ।

आव २०७९/८० मा बंगलाचुली गाउँपालिकामा ६ सय ३ जनाले रोजगारीका लागि सूचीकृत गराएका थिए, जसमध्ये १७ वटा आयोजनामा ८२ जनाले रोजगारी प्राप्त गरेका हुन् । घोराही उपमहानगरपालिकामा ७ सय ७३ जनाले रोजगारीका लागि सूचीकृत गराएकोमा ३४ आयोजनामा १ सय ४८ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा ६ सय ५३ जनाले रोजगारीका लागि सूचीकृत गराएका थिए । जसमा ७ आयोजनामा ६७ जनाले रोजगारी प्राप्त गरेका हुन् । शान्तिनगर गाउँपालिकामा ६ सय ६९ जनाले रोजगारीका लागि सूचीकृत गराएका थिए, जसमा १२ वटा आयोजनामा ८१ जनाले रोजगारी प्राप्त गरेका हुन् । बबई गाउँपालिकामा १ हजार १ सय ६५ जनाले रोजगारीका लागि सूचीकृत गराएकोमा ८ आयोजनामा सय ९ जनाले रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७८/७८ मा बंगलाचुली गाउँपालिकामा १ सय ५४ जना, घोराही उपमहानगरपालिकाकामा १ सय ५६, तुलसीपुर उपमहानगरपालिकामा ३ सय १, शान्तिनगर गाउँपालिकामा १ सय २५, बबई गाउँपालिकामा १ सय ७५ जनाले रोजगारी प्राप्त गरेका थिए । त्यसै गरी दंगीशरण गाउँपालिकामा ६० जना, लमही नगरपालिकामा १ सय १, राप्ती गाउँपालिकामा ८२, गढवा गाउँपालिकामा ४ सय ३ र राजपुर गाउँपालिकामा ६९ जनाले रोजगारी प्राप्त गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा बंगलाचुली गाउँपालिकामा ३ सय ६४, घोराही उपमहानगरपालिकामा ३ सय २६, तुलसीपुर उपमहानगरपालिकामा १ सय ७४, शान्ति नगरगाउँपालिकामा २ सय ८, बबई गाउँपालिकामा १ सय ७३ जनाले रोजगारी प्राप्त गरेका थिए । लमही नगरपालिकामा २ सय ७८, राप्ती गाउँपालिकामा १ सय ८९, गढवा गाउँपालिकामा २ सय ६३ र राजपुर गाउँपालिकामा १ सय ७२ जनाले रोजगारी प्राप्त गरेका थिए ।

सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति हुने गरी मौलिक हकका रूपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, कामका लागि पारिश्रमिकमार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्‍याउने र स्थानीय स्तरमा विकास निर्माणका कार्यमार्फत सार्वजनिक पुँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तरमा सुधार गर्न मद्दत पुर्‍याउने उद्देश्यले यस प्रकारको कार्यक्रम लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्