राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याउने तयारी

नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा एकपटक भण्डारीलाई नै दोहोर्याउनुपर्ने पक्षमा देखिएका छन् । “पार्टीभित्र अन्य आकांक्षी पनि छन् । तर एकपटक उहाँ (भण्डारी) नै दोहोरिनुहुन्छ,” ओली निकट एक नेताले भने, “उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैले उहाँ नै फेरि राष्ट्रपति बन्नुहुन्छ ।”
एमाले वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रूपमै राष्ट्रपतिका लागि इच्छा व्यक्त गरेका छन् । उनले एमालेसँगको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थन लिने प्रयास गरेका छन् । दाहाललाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने खनालको अभिव्यक्ति आफ्नो राष्ट्रपति बन्ने चहानासँग जोडिएर आएको बताइन्छ । दाहालले पनि ओलीसँगको कुराकानीमा राष्ट्रपतिका लागि खनालको नाम लिएका छन् । तर, ओलीले दाहालको प्रस्ताव अस्विकार गरेको बुझिएको छ । एमालेको संस्थापन पक्ष खनाललाई राष्ट्रपति बनाउने पक्षमा नरहेको स्रोतको दाबी छ । “झलनाथजीले इच्छा व्यक्त गर्नुभएको छ । तर विद्याजीको ठाउँमा झलनाथलाई बनाएर के प्रमाणित हुन्छ ?” ओली निकट ती नेताले थपे, “माओवादीको दावी छैन । हाम्रै पार्टीले पाउने हो । त्यसैले विद्याजीको विकल्प झलनाथजी बन्न सक्नुहुन्न ।”
पछिल्लो समय भण्डारीले पनि राष्ट्रपतिमा दोहोरिन लविङ तिव्र पारेको बताइन्छ । भण्डारीले केही समययता दोहो¥याएर राष्ट्रपति बन्ने कसरत थालेकी छन् र एमालेको संस्थापन पक्षको बलियो साथ उनलाई छ । संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको र पूरा कार्यकाल चलाउन नपाएकाले एकपटक पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने एमालेको संस्थापन पक्षको निष्कर्षका कारण उनी नै दोहोरिने लगभग निश्चित रहेको स्रोतले जानकारी दियो । संविधानतः राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । भण्डारी भने संविधान जारी भए पनि संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । नयाँ संविधान अनुसार निर्वाचन भइसकेको अवस्थामा संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको निर्वाचन नभएसम्म उनको पदावधि रहनेछ ।
“अहिले उहाँजस्तो परिपक्व मान्छे राष्ट्रपति नभएको भए माघ ७ भित्र तीन तहको निर्वाचन हुने सम्भावना थिएन । स्थानीय तहको निर्वाचनपछि कांग्रेस हच्किएको थियो । जसका कारण निर्वाचन नहुन सक्थ्यो,” ती नेताले भने, “उहाँले जसरी चुनाव गराउन दबाब दिनुभयो त्यसको परिणाम स्वरूप निर्वाचन सम्पन्न भएका छन् । उहाँको विकल्प अरू कोही हुन सक्दैन ।”
पद बाँडफाँट गर्दा माओवादीले पनि राष्ट्रपति पाउनुपर्ने बताउँदै आएको थियो । तर अहिले भने माओवादी पछि हटेको छ । यद्यपि एमालेसँगको एकता नहुने अवस्था आएमा सरकार सञ्चालनका लागि शक्ति सन्तुलन मिलाउँदा माओवादीले राष्ट्रपति दावी गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।