कार्यान्वय भएन एक वडा एक नमुना विद्यालय

दाङ– घोराही उप महानगरपालिकाले गएको फागुन महिनामा एक वडा एक नमुना विद्यालय बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । निर्णय गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन नहुँदा निर्णय घोषणामै सीमित हुन पुगेको हो । उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालय घोषणा गरे पनि कार्यान्वयन गर्ने नसकेको स्थानीयले गुनासो गरेका छन् । निर्णय गरेर पनि कार्यान्वयन गर्न नसक्नु स्थानीय सरकारको कमजोरी रहेको स्थानीयको भनाइ छ ।
नमुना विद्यालयमा आधारभूत आवश्यकतासमेत नभएको उनीहरूको भनाइ छ । यस्तो अवस्थाले नमुना विद्यालय भन्नसमेत लाज लाग्ने अवस्था रहेको एक अभिभावकले बताए । ‘नमुना विद्यालयमा खानेपानी, शौचालय तथा बस्ने उचित व्यवस्थापनसमेत छैन,’ उनले भने । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले नमुना विद्यालयमा प्रारम्भिक चरणको काम भइरहेको बताए । ‘अहिले प्रारम्भिक चरणका काम भइरहेका छन् अरु केही समयपछि हुनेछन्,’ उनले भने ।
गएको आर्थिक वर्षमा नमुना विद्यालयमा एक/एक लाख रुपैयाँ पठाइएको उनले बताए । विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, शिक्षकलाई तालिम, शिक्षकको दरबन्दी मिलान, विद्यालयको स्तरीकरण गर्ने काम भएको उनको भनाइ छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बजेटसमेत व्यवस्था हुने प्रमुख गौतम बताउँछन् । प्रि–प्राइमरीलाई प्राथमिकता दिइएको उनको भनाइ छ । सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण गराउन प्रि–प्राइमरीलाई प्राथमिकता दिइएको उनको भनाइ छ । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनसमेत सहयोग पुग्ने उनी बताउँछन् ।
शिक्षाको सुधार तथा शिक्षा क्षेत्रको विकासका लागि एक वडा एक नमुना विद्यालय बनाएर अगाडि बढ्न थालेको उपमहानगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा घट्दै गएको विद्यार्थी संख्या बढाउनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहले आफ्नो पालिकामा शिक्षा क्षेत्रको सुधार तथा विकासका लागि एक वडा एक नमुना विद्यालय अगाडि बढाइएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । माध्यमिक विद्यालयसम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई छ ।
नमुना विद्यालयबाट अन्य विद्यालयले सिकेर अगाडि बढ्न सहयोग पुग्ने उनले बताए । नमुना विद्यालयबाट नजिकै रहेको विद्यालयमा शिक्षा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । राम्रो कामको सिकाइ सबैले सिक्नुपर्ने अधिकृत पौडेल बताउँछन् । नमुना विद्यालयमा कक्षा १ भन्दा पहिले तीनवटा कक्षा सञ्चालन हुनेछन् । जसमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन हुनेछ । अंग्रेजी माध्यममा पढाइ सुरु भएमा बोर्डिङ स्कुलमा जाने विद्यार्थी सामुदायिक विद्यालयमा ल्याउन सहयोग पुग्ने छ भने विद्यालयमा भर्ना भएका विद्यार्थी विद्यालयमा नै रहन उपमहानगरपालिको अपेक्षा छ ।
‘नमुना विद्यालयमा विद्यार्थीलाई आकर्षण गर्ने वातावरण हुनेछ,’ उनले भने । नमुना विद्यालयमा विद्यार्थीअनुसार शिक्षकका दरबन्दी पूरा हुने, विद्यार्थीको बसाइलाई व्यवस्थित बनाइने, स्वच्छ खानेपानीको उपलब्धता गराइने, शैक्षिक सामग्रीको व्यवस्थापन गरेर शैक्षिक सामग्रीको प्रयोग गरेर अध्ययापन गराइने, विद्यालयको भौतिक पूर्वाधार पर्याप्त मात्रमा नभएका विद्यालयको भौतिक विकासमा सहयोग गरिने भएको छ । नमुना विद्यालय हरेक हिसाबले नमुना बनाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।
अहिले एउटा वडामा एक नमुना विद्यालयबाट सुरु गरिएको कार्यलाई विस्तारै अन्य सबै सामुदायिक विद्यालयमा पनि गरिने उपमहानगरको योजना रहेको बताइएको छ । यसका लागि घोराही उपमहानगरपालिकाको नगर कार्यपालिकाबाट एक वडा एक नमुना बनाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यालयलाई शिक्षा समितिमा सिफारिस गरेर नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो ।
कार्यपालिकाले नमुना विद्यालयका लागि वडा नं १ को आधारभूत विद्यालय सिमलतारा, वडा नं २ को गैरी बबई प्रावि निमुरिया, वडा नं ३ को आधारभूत विद्यालय सरयु भैसकुमा, वडा नं ४ को आधारभूत विद्यालय सुनपुर, वडा नं ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुरलाई छनौट गरेको छ । यसैगरी वडा नं ६ को जनकल्याण प्रावि लखुवार, वडा नं ७ को रात्री प्रावि शुक्रबार, वडा नं ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रा वडा नं ९ को प्रावि मकुन डाँडा, वडा नं १० को नवमोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राइलाई छनोट गरेको छ ।
त्यसैगरेर वडा नं ११ को प्रा वि सिवपुर, वडा नं १२ को मा वि रतनपुर, वडा नं १३ को बराह क्षेत्र मावि सेवार वनगाउँ, वडा नं १४ को वालविकास मावि, वडा नं १५ को सरस्वती मावि काठेकोहललाई छनौट गरेको छ । यसैगरी वडा नं १६ को प्रावि सानी अम्बापुर, वडा नं १७ को प्रावि भैसाही, वडा नं १८ को अम्बीकेश्वरी आधारभूत विद्यालय बेलघारी, वडा नं १९ को भगवती मावि होडवाङलाई नमुना विद्यालय बनाउने निर्णय गरेको हो ।
संघीय सरकार तथा प्रदेश सरकारले समेत नमुना विद्यालय छनोट गरेर काम गरिरहेका छन् । तर जुन लक्ष्य र उद्देश्यअनुसार छनोट गरिएको हो । त्यसअनुसार कार्यान्वयन भने हुन सकिरहेका छैनन् । उप महानगरपालिकाले शिक्षा सुधारका लागि विद्यालयमा पुगेर विद्यालयको अवस्थाका बारेमा जानकारी लिने कामसमेत गरेको छ । विद्यालयमा पुगेर पाइएका कमी कमजोरी सुधार गर्दै लैजाने उपमहानगरपालिकाले जनाएको छ ।