मकैमा डाँठ कुहिने रोग «

मकैमा डाँठ कुहिने रोग

दाङ– जिल्लामा मकैमा डाँठ कुहिने रोग लागेर मकै सुक्न थालेपछि कृषकहरू मारमा परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास बघौसीका मदनकुमार डाँगीले लगाएको मकैको फल नलाग्दै बोट कुहेर मर्न थालेको छ । १५ कट्ठामा लगाएको मकै आधा सुकेको उनले बताए ।

‘आधाभन्दा बढी सुकिसक्यो,’ उनले भने, ‘सुकेको डाँठ भैंसीले पनि खाएको छैन ।’ मकैमा धान चमरा आउनु अघि र केहीमा आइसकेपछि पनि डाँठ कुहिएर मकै सुकेको उनको भनाइ छ । घोराही उपमहानगरपालिका–३ भानपुरका लोकराज न्यौपानेको पनि मकैको हालत उस्तै छ । चार खण्ड बनाएर आठ कट्ठामा लगाएकोमा एउटा खण्ड सखाप भएको उनले बताए । ‘आठ कट्ठामा चार खण्ड बनाएर मैले मकै रोपेको थिएँ । एक खण्ड सखाप भइसक्यो,’ उनले भने, ‘मकैका दाना लाग्न नपाउँदै बोट सुकेर गयो ।’

उनीहरू मात्रै होइन अहिले जिल्लाका शान्तिनगर, बबई र दंगीशरणमा यो रोग देखिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख नरेश धितालले शान्तिनगरमा महामारीको रूपमा यो रोग फैलिएको बताए । ‘हामीले अनुगमन पनि गर्‍यौं, पश्चिमका पालिकामा व्यापक रूपमा फैलिएको पाइयो,’ उनले भने, ‘अन्यत्र पनि फाट्टफुट्ट देखिएको जानकारी आएको छ ।’ शान्तिनगर गाउँपालिकामा महामारीको रूपमै फैलिएको गाउँपालिकाका कृषि प्राविधिक केशव केसीले जानकारी दिए ।

पालिकाका सबै वडामा रोग फैलिएको उनको भनाइ छ । ‘सबै वडामा रोग फैलिएको छ,’ उनले भने, ‘८० प्रतिशत जति मकैबाली नष्ट भइसकेको छ ।’ उनका अनुसार कृषि ज्ञान केन्द्र, गाउँपालिका र कृषि अनुसन्धान निर्देशनालय, खजुरा, बाँकेको टोलीले संयुक्त निरीक्षणसमेत गरेको छ । शान्तिनगरमा कार्यपालिका बैठकले पीडित किसानको राहतका बारेमा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले बबईमा मकैको डाँठ सुक्ने रोगले किसान चिन्तित बनेको बताए । पालिकामा फल नलाग्दै मकैको बोट सुक्न थालेपछि किसान चिन्तित भएको उनकोे भनाइ छ । यस्तै राप्ती गाउँपालिकामा पनि फाट्टफुट्ट रूपमा डाँठ सुक्ने रोग देखापरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । ‘यहाँ बेमौसमी खेती बढी हुन्छ । अहिले भएको खेतीमा पनि फाट्टफुट्ट डाँठ सुक्ने रोग देखा परेको छ,’ उनले भने, ‘हामीले अनुगमन गर्दैछौं । खेती नै कम भएकाले व्यापक भएको पाइँदैन ।’

गढवा गाउँपालिकामा पनि मकैको डाँठ सुक्ने रोग देखापरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताए । विशेषगरी व्याक्टेरियाबाट हुने यो रोगबाट ग्रसित बिरुवाको घोगा नलाग्ने, लागिहाले पनि साना र थोते घोगा लाग्ने हुन्छ । साधारणतया मकै पाक्नु अगावै बोट ढलेर जाने डाँठ कुहिएर जानाले धेरै नोक्सानी हुन्छ ।

रोगका कारण मकै जराबाट सुक्दै टुप्पो तिर गएको किसान बताउँछन् । घोगा लगाइसकेको मकै बालीमा डाँठ कुहिने रोग देखा परेपछि सबै किसान चिन्तित छन् । प्रकोपकै रूपमा डाँठ कुहिने रोग फैलिएको र रोग लागी सुकेका बोटलाई बचाउन नसकिने बाली संरक्षण अधिकृतहरू बताउँछन् ।

माटोको उपचार गरौं

बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले स्टेप्टोमाइसिन नामक ६ ग्राम विषादी १५ लिटर पानीमा मिसाएर प्रयोग गर्ने तथा कृषि चुन पनि प्रयोग गरेमा यो रोगबाट बच्न सकिने बताउँछन् । उनले रोग लागेपछि नियन्त्रण गर्न समस्या हुने बताए ।

यो व्याक्टेरिया माटोमा रहिरहने भएकोले अर्को बाली लगाउनु अघि नै माटोको उपचार गर्नुपर्ने उनको भनाइ छ । माटोलाई गहिरो खनजोत गर्ने अनि विषादी र कृषि चुन प्रयोग गरेमा अर्को बाली जोगाउन सकिने उनको सुझाव छ । उनले विज्ञ टोली आएर माटोको नमुना परीक्षणको काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्