Logo

होटल अकुपेन्सी बढाऊ

मुलुकभरमा वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भएका बेला क्षमताको २० प्रतिशत पनि अकुपेन्सी नहुनु सोचनीय विषय हो । अहिले देशभरिका होटलसँग जति पाहुना राख्न सक्ने क्षमता छ, त्यसको २० प्रतिशत पनि पर्यटक नआएको अवस्था छ । प्रमुख पर्यटकीय गन्तव्य बनेको पोखरामा समेत अहिले पर्यटक पुगेका छैनन् ।

यस्तै मुलुकका अन्य पर्यटकीय गन्तव्यहरू चितवनको सौराहा, रुपन्देहीका बुटवलदेखि लुम्बिनी, तनहुँको बन्दीपुरलगायत अधिकांश स्थानमा पर्यटक घटेका छन् । हुन त यो पर्यटक धेरै आउने मौसम होइन । व्यवसायीहरूले यसलाई अफ सिजनका रूपमा लिने गरेका छन् । तर, क्षमताको २० प्रतिशत पनि पर्यटक नआउनु भनेको सोचनीय विषय पक्कै हो ।

सरकारी तथ्यांकले यो वर्ष अर्थात् सन् २०२३ का सात महिनामा पर्यटक आगमनमा सुधार देखाएको छ । खासगरी कोभिड महामारीपछिका वर्षहरूमा यो वर्ष पर्यटक धेरै आएका छन् । अहिलेसम्म (जनवरीदेखि जुलाई) ५ लाख ३४ हजार जना पर्यटक आएका छन् । यो संख्या नराम्रो होइन । तर, अहिले देखिएको आगमन भने व्यवसायीका लागि हतोत्साही गर्ने तथ्यांक हो ।

विगतका वर्षहरूमा यस्तो बेला आन्तरिक पर्यटकको चहलपहलले अकुपेन्सी दर केही बढाउने गरेको थियो । यो वर्ष त्यो पनि देखिएको छैन । खासगरी पर्यटकीय गन्तव्यसम्म पुग्ने सडकमार्गहरू स्तरोन्नति गर्न निर्माणाधीन अवस्थामा रहेका कारण आन्तरिक पर्यटक बाहिर निस्केको देखिँदैन । काठमाडौंदेखि पोखरा, चितवन, लुम्बिनीजस्ता स्थानहरूमा जान अहिले सडकमार्ग गतिलो छैन । नौबीसेदेखि मुग्लिनसम्म, मुग्लिनदेखि पोखरासम्म र नारायणगढदेखि बुटवलसम्मको राजमार्ग अहिले निर्माणाधीन अवस्थामा छ ।

बैंक डुब्नु भनेको सर्वसाधारणको पनि पैसा डुब्नु हो । त्यसैले आगामी दिनमा बढी पर्यटक ल्याउन व्यवसायीसँगै सरकारले पनि सहयोग गर्नुपर्छ ।

निर्माणका क्रममा धूलोधूवाँ मात्र होइन, सडक पार गर्न घण्टौं जाममा बस्नुपर्ने बाध्यता बनेको छ । यस्तै वर्षायामका कारण निर्माण भइरहेका सडकमार्गमा झनै समस्या थपिने गरेका छन् । मुग्लिनदेखि नारायणगढसम्मको करिब ३५ किलोमिटर सडकमा यो वर्ष पटक–पटक पहिरो गइरहेको छ । दुई महिनाको अवधिमा मात्र यो सडक १ सय घण्टाभन्दा बढी बन्द हुन पुगेको छ ।

आन्तरिक पर्यटक बाढीपहिरोका कारण जोखिम मोलेर बाहिर निस्कन सकेका छैनन् । अधिकांश आन्तरिक पर्यटकको पहुँच हवाई सेवामा छैन । यस्तोमा सडकमार्गमा देखिएको अवरोधले स्वदेशी पर्यटकले यात्रालाई पर सारेको हुनुपर्छ । यस्तै, यो बेलामा गर्मी छल्न आउने भारतीय पर्यटक पनि यो वर्ष कम आएको अवस्था छ । अर्कातिर विश्वका अधिकांश मुलुकमा देखिएको आर्थिक मन्दी र हाम्रै देशको अर्थतन्त्रमा आएको शिथिलताले पनि पर्यटकीय गतिविधिमा कमी आएको छ ।

अहिले सर्वसाधारण नागरिकसँग पैसाको कमी छ । यस्तोमा घुम्न खर्च गर्नुभन्दा अन्य आवश्यक स्थानमा खर्च गर्न प्राथमिकता दिएको हुनुपर्छ । अर्कातर्फ मुलुकभरमा स्तरीयसँगै साना होटलको क्षमता बढेका कारण पनि अकुपेन्सी घटेको हो । अहिले सानाठूला सबै होटलले ४० लाखसम्म पर्यटकलाई आवाससहितको सुविधा दिन सक्ने पूर्वाधार निर्माण गरेका छन् । होटल तथा पर्यटन क्षेत्रमा अहिलेसम्म करिब २० खर्ब लगानी पुगेको छ र यो थपिने क्रममा छ ।

गत वर्ष मात्र २० अर्बभन्दा बढी लगानीमा करिब एक दर्जन होटल तथा रिसोर्ट निर्माण भएर सञ्चालनमा आएका छन् । अहिले डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । तारेस्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ । यस्तै तारेस्तरका होटलमा बेड संख्या १६ हजार ३ सय ३५ पुगेको छ भने यसबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा ३७ हजार ३० बेड संख्या पुगेको छ ।

विगतमा १२ लाखसम्म पर्यटक आएको पृष्ठभूमिमा होटल व्यवसायीले यति ठूलो पूर्वाधार बनाउँदा जोखिम पक्कै बढेको छ । आगामी दिनमा पर्यटक आगमनमा उच्च रूपमा सुधार नभए समस्या निम्तिन सक्नेछ । अहिले अकुपेन्सी २० प्रतिशत तल रहे पनि एकाध महिनापछि सुरु हुने पर्यटकीय मौसममा सुधार आउने आशा व्यवसायीहरूको छ । नेपालमा सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई पर्यटकीय मौसम मानिन्छ ।

खर्बौं रुपैयाँ लगानी भएको यो क्षेत्रमा पर्यटक नआए अवस्था साँच्चै गम्भीर हुनेछ । यो क्षेत्रमा व्यवसायीले लगानी गरेको भनिए पनि त्यो बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण हो । व्यवसायी आफैंको लगानी कम छ । त्यसैले यो क्षेत्रमा समस्या आए व्यवसायीलाई मात्र होइन, बैंकिङ क्षेत्रमा पनि त्यसको प्रभाव देखिनेछ । बैंक डुब्नु भनेको सर्वसाधारणको पनि पैसा डुब्नु हो । त्यसैले आगामी दिनमा बढी पर्यटक ल्याउन व्यवसायीसँगै सरकारले पनि सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्