व्यावसायिक कफी उत्पादनमा इयुको सहयोग

काठमाडौं– स्थानीय तहसँग सहकार्यमार्फत कफीको दिगो तथा व्यावसायिक उत्पादन प्रवर्द्धन गरी किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो ।
तालिममा अर्घाखाँचीको भूवनेश्वर नगरपालिकाको १२ महिलासहित २६ जना कफी व्यवसायी तथा किसानको सहभागिता रहेको छ । कफीको लागि सम्भावना बोकेको अर्घाखाँचीमा कफीको वैज्ञानिक, दिगो तथा व्यावसायिक उत्पादन तथा उत्पादकत्व बढाइ निर्यात क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो । मुलुक संघीयतामा गइसकेको अवस्थामा स्थानीयतहमार्फत उद्यमी तथा किसानलाई उनीहरूको उच्चतम सहभागितासहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कफी उत्पादक तथा कफी व्यावसायिक महासंघका अर्घाखाँचीका जिल्ला कोषाध्य पुष्करनाथ बन्जाडेले अर्घाखाँचीमा विगतमा धेरै किसान कफी व्यवसायमा लागेको भए पनि बजारीकरण अभाव तथा रोगकिरा व्यवस्थापनको ज्ञान नहुँदा कफी व्यवसायबाट पलाएन भएको बताए । तालिमकी सहभागी विष्णुमाया घमले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदैं तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।
भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । थापाले ठूलामात्रामा व्यावसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको क्षमता स्थानीयतहबाटै विकास गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले स्थानीयतहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवद्र्वन गर्ने योजनाहरू अगाडि बढाएको बताए । कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवालयका उपसचिव मात्रिका आचार्य, कृषि तथा पशुविकास मन्त्रीका निजी सचिव सुशील भट्टराइ, इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम आइटिसीका संयोजक विदुर घिमिरेले नेपालमा कफीको सम्भावना पर्याप्त भएको बताउँदै स्थानीयतहसँगको सहकार्यमार्फत दिगो तथा व्यावसायिक कफी उत्पादन गरी कफीको निर्यात बढाउन स्थानीय किसानको लागि आयोजना गरिएको तालिमले सहयोग पुग्ने बताए ।