दूधको मूल्य निर्धारण गर्न ८ सदस्यीय कार्यदल

दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न बुधबार एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयाजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो ।
साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धिसम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला सम्मिलित कार्यदल गठन गरेको हो । कार्यदलमा पशु सेवा विभाग, केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् । बोर्डका प्राविधिक निर्देशक सदस्य सचिव रहेका छन् ।
कार्यदललाई मूल्य निर्धारणको आधारहरू विश्लेषण गर्ने, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण गर्ने, दूधको गुणस्तर, दूध उत्पादनमा मौसमी प्रभाव, व्यवस्थापकीय खर्च, लगाएतका ९ बुँदे काम गर्न जिम्मा दिइएको छ । अन्य कामहरूमा पाँच वर्ष यताको दूध बजारको विश्लेषण, आन्तरिक तथा वाह्य बजार प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत दुई वर्षको बजारमूल्य तथा दूधको मूल्य समायोजनामा उपभोक्तामा पर्ने असरलगायत छन् । मन्त्रालयले सकेसम्म छिटो प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । तर, समयावधि भने तोकिएको छैन । भदौ १ गतेदेखि नै लागू गर्ने गर्न मन्त्रालय तयार रहेको तर तीन दिन लगातार सार्वजनिक बिदा परेका कारण केही दिन ढिला हुन सक्ने मन्त्रालयको भनाइ छ ।
सरकारले यसअघि २०७१ पुस १ गते प्रतिलिटर ८ रुपैयाँँ बढाएर ६४ रुपैयाँ प्रतिलिटर पु¥याइएको थियो भने २०७४ भदौ १ गतेदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाएर ७० रुपैयाँ प्रतिलिटर पु-याइएको थियो । हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । यसअघि पनि मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व गठन हुने कार्यदलको सिफारिसमा दूधको मूल्य बढाउने अभ्यास रहँदै आएको छ । बढेको उपभोक्ता मूल्यमध्ये ६९ प्रतिशत हिस्सा किसानतर्फ बढ्ने र उद्योगतर्फ ३१ प्रतिशत हिस्सा रहने गरी मूल्यवृद्धि गर्ने अभ्यास छ ।