प्याजको थोक मूल्य १५ रुपैयाँले बढ्यो

काठमाडौं– प्याजको थोक मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । भारतले प्याजमा ४० प्रतिशत कर लाग्ने नियम लागू गरेपछि चार दिनमा स्थानीय बजारमा प्याजको थोक मूल्य १५ रुपैयाँ बढेको हो । शनिबार भारतले प्याजमा ४० प्रतिशत कर लगाउँदा व्यवसायीले कालिमाटी बजारमा प्याज भित्र्याएका थिएन ।
बुधबार रातिदेखि प्याज भित्र्याउन थालेको कालीमाटी फलफुल तथा तरकारी बजारमा विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले जानकारी दिए । भारतले प्याजको मूल्यमा कर नलाउँदा थोक मूल्य ६०/६१ रुपैयाँ थियो । कर लागू गरेर आयात भएको प्याजको मूल्य ७०/७५ रुपैयाँ पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार भारतले प्याजमा कर बढाएपछि केही दिन व्यवसायीले आयात गरेका थिएन । बुधबार रातिदेखि भने प्याज ल्याउन थालिएको छ । कालिमाटी बजारमा बुधबार राति १ सय ४५ मेट्रिकटन प्याज भित्रिएको थियो । बिहीबार बिहान ११ बजेसम्म थप १ सय २० मेट्रिकटन प्याज भित्रिएको श्रेष्ठले जानकारी दिए ।