Logo

आन्तरिक राजस्व लक्ष्य भन्दा कम

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा आन्तरिक राजस्व लक्ष्य भन्दा कम उठेको छ । आन्तरिक राजस्व विभागले साउनमा ४९ अर्ब ७० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, ४० अर्ब ३४ करोड ४१ लाख रुपैयाँ मात्रै संकलन भएको विभागले जनाएको छ । यो लक्ष्यभन्दा करिब ९ अर्ब रुपैयाँ कम हो । विभागको अनुसार साउनमा आयकर संकलन गर्ने लक्ष्य १६ अर्ब नौ करोड १३ लाख ५६ हजार रुपैयाँ राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार रुपैयाँ उठेको छ ।

यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) बापत साउनमा १४ अर्ब २४ लाख ७२ हजार रुपैयाँको लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार रुपैयाँ मात्रै उठेको विभागले जनाएको छ । अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ७ अर्ब ७० करोड ९५ लाख ८९ हजार रुपैयाँ उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो । घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउनमा शिक्षा सेवा कर लक्ष्यभन्दा बढी देखिएको छ ।

विभागका अनुसार साउनमा घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् २२ करोड २० लाख ६ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार रुपैयाँ उठेको छ । शिक्षा सेवा कर पनि मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यी शीर्षकमा २० करोड ४५ लाख एक हजार रुपैयाँ शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार रुपैयाँ बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस्