कर्णाली उडानमा पछि हट्यो उड्डयन प्राधिकरण

जुम्ला– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्णाली प्रदेशका हिमाली जिल्लासहित सुदूरपश्चिममा दिउँसोको समयमा उडान गर्न नपाउने निर्णय फिर्ता लिएको छ । यी क्षेत्रका विमानस्थलमा मध्यान्ह १२ बजेपछि कुनै पनि उडान गर्न नपाउने निर्णय प्राधिकरणले फिर्ता लिएको हो । प्राधिकरणको निर्णयका कारण कर्णालीबासीले सास्ती पाएका थिए भने जहाज कुर्दाकुर्दै हुम्लामा चार बालकले ज्यानसमेत गुमाएका थिए ।
यो निर्णयको आलोचना भएपछि बिहीबार प्राधिकरणले प्रतिबन्ध हटाएको हो । प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै मध्यान्ह १२ बजेपछि हिमाली क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो । साथै हेलिकप्टरलाई पनि उद्धार उडान, सामान ढुवानीलगायत उडानमा रोक लगाएको थियो । यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको थियो । प्राविधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै यसअघिको निर्णय फिर्ता लिएर पहिलेकै तालिकाअनुसार कर्णाली तथा सुदूरपश्चिमका जिल्लामा नियमित उडान हुने जनाएको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘चर्को दबाबका बीच हामीले निर्णय फिर्ता लियाैं । वर्षाको समयमा नागरिककै सुरक्षाका लागि १२ बजेपछि उडान नगर्ने निर्णय गरेका थियौं । अब पहिलेकै तालिकामा नियमित उडान हुन्छन् ।’ अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिबिलिटी कायम भएको सुनिश्चिततापछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्रै उडान अनुमति दिइने प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।
हवाई व्यवसाय नै जोखिममा पार्नेगरी प्राधिकरणले उडानसम्बन्धी नयाँ नियम ल्याएको भन्दै कर्णालीमा विरोध भएको थियो । नेकपा एमालेले यस विषयमा सरकारले सहजीकरण नगरेसम्म संसद् नै अवरुद्ध गर्ने अडान लिएको थियो । बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाले प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटनमन्त्री सुदन किराँती र प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको जुम्लाकी सांसद छिरिङ ल्यामु लामाले बताइन् । उनले भनिन्, ‘जहाज कुर्दाकुर्दै चार बालकको मृत्यु भएको, कर्णालीलाई हेपाहाको दृष्टिले हेरेको भनेर हामीले महानिर्देशक अधिकारीको आलोचना गरेपछि निर्णय फिर्ता भयो ।’
प्राधिकरणका सूचना अधिकारी भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा विमानहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘विमानस्थलहरुलाई आईएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको थियो । जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान भर्दा साँझ हुँदा पाइलटलाई काठमाडौं, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षामा कमी आउने गरेको छ ।’
मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैंभरको लागि नभई मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको प्राधिकरणले प्रष्ट पारेको छ । प्राधिकरणले हेरफेर गरेको नियमअनुसार दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था ‘भिएमसी मिनिमा’ कायम भएको सुनिश्चित गरी विमान चालक र डिस्प्याचरको लिखित घोषणापपछि मात्र उडान अनुमति प्रदान गर्नेछ ।
साथै ‘भिजिबिलिटी एन्ड डिस्ट्यान्स फ्रम क्लाउड मिनिमा’को आवश्यक भिजिविलिी र आवश्यक बादलसँग तलमाथि तथा दायाँबायाँ निश्चित दूरी कायम गर्दै बादलभित्र नछिरी उडान गर्न सक्ने सुनिश्चिततापछि मात्र विमानले उडान भर्न पाउनेछ । नेपालगन्ज विमानस्थलबाट दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य उडान सञ्चालन अधिकारीको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य ती अधिकारीको अनुमतिमा मात्र गर्न पाउनेछन् ।
साथै प्राधिकरणले पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल (दुर्गम वा पहाडी) विमानस्थलको सञ्चालन समय पुनरावलोकन गर्ने तथा बाटोको मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका कारण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् ।