घाटगद्दीका काठ व्यवस्थापन गर्न निर्देशन

धनगढी– उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वन निर्देशनालय, डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालय र मातहतका निकायमा घाटगद्दी गरी राखिएका काठ व्यवस्थापन गर्ने भएको छ । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले १७ बुँदे निर्देशनपछि वन वन निर्देशनालय, डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालय र मातहतका निकायमा घाटगद्दी गरी राखिएको काठ, जिन्सी सामान र सवारी साधनको लगत लिने कार्य सुरु भएको छ ।
सरकारी कार्यालयबाट प्राप्त, बेवारिस र विभिन्न मुद्दामा बरामद गरिएका काठ र सवारीसाधन वर्षौंदेखि ती कार्यालयमा घाटगद्दी गरी राखिएका छन् । त्यसरी राखिएको काठ कुहिन थालेको छ । कतिपय काठ हैसियत बिग्रिएर काम नलाग्ने भइसकेको जिल्ला वन सुरक्षा शाखा कार्यालय कैलालीका सुवेदार नरबहादुर थापाले बताए । उनले विगत ३५ वर्षभन्दा अगाडि र पछाडिका काठ जिल्ला वन सुरक्षा शाखा कार्यालय घाटगद्दी गरिराखिएको बताए । उनले अदालतबाट मुद्दा फैसला भइनसकेको हुनाले डिविजन वन कार्यालय काठ लिलाम गर्न नपाएको बताए ।
उनले बरामद गरी राखिएका काठ र सवारी साधानको लगत नभएकाले एकीन परिमाण भन्न नसकिने अवस्था रहेको बताए । मन्त्री धामीले मन्त्रालय र मातहतका निर्देशनालय तथा कार्यालयको परिसर सरसफाइ गर्न, जीर्ण भएका, प्रयोगमा नरहेको भवन, जिन्सी सामान, सवारीसाधन, काठको लगत लिएर त्यसको अवस्थासमेत जाँच गरी मर्मत गरी प्रयोग गर्न सकिने भए मर्मत गरी प्रयोग गर्न, प्रयोग गर्न नसकिने भए लिलाम बिक्री गर्न निर्देशन दिएका छन् ।
सो निर्देशन निर्णय भएर कार्यान्वयनमा गएको मन्त्री धामीका स्वकीय सचिव रमेश भट्टराईले बताए । मन्त्री धामीले बुधबार जिल्ला वन सुरक्षा शाखा कार्यालय कैलालीको अनुगमन गरेका छन् । सो कार्यालयले बरामद गरी राखिएको काठ, काठ ओसार्न प्रयोग गरिएको सवारीसाधन, थुनुवा कक्ष, कार्यालय परिसर अनुगमन गरेका हुन् । उनले अनुगमन गर्दै सो काम र सवारी साधनको लगत तयार गर्न र कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिए ।
मन्त्री धामीले मातहतका सबै कार्यालयको नियमित अनुगमन गर्न बुधबारबाट सुरु गरेको बताए । उनले सबै कार्यालयको सुधार, सरसफाइ, कार्य प्रगतिलगायतका विषयमा अनुगमन गरिने बताए । उनले कार्यालय परिसरमा रहेको काठ, जिन्सी सामान र सवारी साधनको व्यवस्थापन गरी सरकारको राजस्व वृद्धि र स्रोत साधनको उचित प्रयोगका लागि आफूले मातहतका कार्यालय प्रमुखले सो काम गर्न निर्देशन दिएको बताए ।
मन्त्री धामीले सामुदायिक वनमा रहेको काठ, सुकेका रुखको व्यवस्थापनका लागि समेत मन्त्रालयले वन ऐनअनुसारको कार्यविधि बनाइरहेको बताए । उनले कार्यविधि बनिसकेपछि क्रमिक रूपमा व्यवस्थापन गरिँदै जाने बताए । अनुगमनमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता मालसमेत सहभागी भएकी थिइन् ।