दिगो विकासको लक्ष्य चुनौती

काठमाडौं- नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) लक्ष्य पुरा गर्ने प्रतिवद्धता जनाए पनि प्रतिबद्धता पूर्ण रुपमा कार्यन्वयन हुन कठिन देखिएको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघ (युएनडिपि) को संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा बोल्दै सरोकारवालाहरुले कार्यान्वयनमा चुनौती हुने बताएका हुन् । एसडीजीका लागि नेशनल कन्सल्टेन्ट दामोदार ज्ञवालीका अनुसार दिगो विकास लक्ष्यका कुल १७ क्षेत्रमा औसतमा ५९.७ प्रतिशत मात्र लक्ष्य पूरा हुने देखिएको छ ।
बजेट अभावले लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको भनाइ छ । लक्ष्य पूरा गर्न सन् २०१६ देखि २०३० सम्म आवश्यक बजेटमध्ये वार्षिक औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ कम रहेको योजना आयोगले बताएको छ । दिगो विकास लक्ष्यको समीक्षा गर्दै लक्ष्य पूरा गर्न नेपालसामु ठूलो चुनौती भए पनि औसतमा नेपालको राम्रो प्रगति रहेको जानकारी गराइएको छ । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले आर्थिक क्षेत्रमा लक्ष्य अनुरुप कार्य हुन नसकेको स्वीकार गरेका छन् ।
‘सामाजिक क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेको छ, तर आर्थिक क्षेत्रमा लक्ष्य अनुरुप नतिजा हासिल गर्न सकिरहेको छैन,’उनले भने,‘विभिन्न चुनौतीका बाबजुद विकासशील मुलुकमा स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पुरा हुनु सकारात्मक पक्ष हो, आगामी १६ औं आवधिक योजनालाई एसडीजीका लक्ष्य पूरा गर्न केन्द्रित गरिने छ ।’ उनका अनुसार सरकारले हालको १५औँ योजना र यसका नियमित कार्यक्रमहरू र नीतिमार्फत दिगो विकास लक्ष्यलाई आन्तरिक रुपमा भित्र्याउने तयारी गरेको छ ।
नेपालले आर्थिक रूपान्तरणलाई उत्प्रेरित गर्ने सम्भाव्यता भएका प्रमुख क्षेत्रहरु पहिचान गरेको उनले बताए । ‘हाम्रो फोकस अर्थतन्त्र भित्र उत्पादन र उत्पादकत्व वृद्धि, दक्ष मानव पुँजी सृजना र समावेशी रोजगारीका अवसरहरू सिर्जना गरी गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य सेवा प्रणाली, सुदृढ पूर्वाधार, जिम्मेवार सहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीता, सामाजिक सुरक्षा वृद्धिमा जोड दिइएका छौ,’ उनले भने ।
कार्यशालामा बोल्दै, नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय संयोजक हाना सिंगर हाम्दीले नेपाल लगायतका अन्य विकसित मुलुकहरुका लागि पनि दिगो विकासको लक्ष्य हासिल गर्ने बाटो अप्ठ्यारो भए पनि प्रयासरत रहनुपर्नेमा जोड दिएकी छिन् । आगामी सेप्टेम्बरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा एसडीजी शिखर सम्मेलन हँुदै छ । नेपालले पनि दिगो विकासको लक्ष्य सम्बन्धि सामूहिक प्रतिबद्धता र कसैलाई पनि पछि नछोड्ने वाचालाई पुनः पुष्टि गरिने उल्लेख छ ।
शिखर सम्मेलनले लक्ष्यहरूप्रति विश्वका राजनीतिक दलका नेताको सामूहिक प्रतिबद्धता र कसैलाई पनि पछि नछोड्ने वाचालाई पुनः पुष्टि गरिने उल्लेख छ । दिगो विकास लक्ष्यन्तर्गत शून्य गरिबी, शून्य भोकमरी, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाइ, खर्चले धान्न सकिने स्वच्छ ऊर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्योग प्रवद्र्वन, पूर्वाधार, असमानता हटाउने, सहरहरु र दिगोपना, उपभोग र उत्पादनमा जिम्मेवारीपन, जलवायुसम्बन्धी कार्य, जलमुनिको जीवन, भू–सतहको जीवन, शान्ति, न्याय र समृद्ध संस्था र लक्ष्यका निम्ति साझेदारी रहेका छन् ।
यी लक्ष्यहरुमा कुल ३०१ सूचकहरु बनाएर कार्यान्वयन गरिएको छ । यसरी कार्यान्वयनमा रहेका सूचकको कार्यान्वयन प्रगतिको दर सन् २०३० सम्म ५९.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गरिबी अन्त्य गर्ने लक्ष्यमा ७५.१ प्रतिशत मात्र प्रगति हुने प्रक्षेपणले देखाएको छ ।