दुर्घटनामा सिँचाइ मन्त्रालयका सचिव यादवको मृत्यु

शनिबार बिहान भएको सवारी दुर्घटनामा सिँचाइ मन्त्रालयका सचिव रमानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा यादवका छोरा २५ वर्षका सन्तोष यादव र एक १५ वर्षिया बालिका उन्नति गुप्ता हराइरहेका छन् । जिपका चालक निरञ्जन यादव अधिकारी घाइते भएका छन् । सिट बेल्ट लगाइएको अवस्थामा चालकको सिटबाट जीपभित्र नै सचिव यादवलाई सशस्त्र प्रहरीका गोताखोरहरुले फेला पारेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए । उनका अनुसार जीप सचिव यादवले नै चलाएका थिए ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा शनिबार बिहान जीप खसेको हो । कपिलवस्तुबाट काठमाडौं जाँदै गर्दा यादव सवार बा २ झ ३१४० नम्बरको जीप बिहान २ः४५ बजेतिर त्रिशूलीमा खसेको थियो ।
दुर्घटनापछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीय हरी माझी र दिपक मगरले पुलमुनिबाट उद्धार गरेका थिए । जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो ।