पशुपालनमा आकर्षण बढ्यो, दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर

पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत स्थानीय तहले कृषकलाई अनुदानका साथै पशुपालनमा प्रोत्साहन गरेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । जसका कारण तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले दाबी गरे ।
आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्लाबाहिर पनि निर्यात हुन थालेको उनको भनाइ छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८.५४ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२.५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा दूध ३८ हजार ८३८ र मासु चार हजार ७४३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै अण्डा दुई करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ । दूधको २९ हजार ७८२ र मासुको चार हजार ५८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु १६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा दूध ३७ हजार ९२८, मासु चार हजार ५७६ मेट्रिक टन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा पशुपंक्षीको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार गाईको संख्या ५२ हजार आठ सय तीन, भैसीको संख्या ५७ हजार ५४४, भेडाको संख्या ७२६, बाख्राको संख्या ३९ हजार ४३४, कुखुराको संख्या एक लाख ९५, हाँसको संख्या १२ हजार ६९४, बङगुरको संख्या ४८ हजार ३११ छ ।
केन्द्र प्रमुख डा. श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपंक्षी फर्म दर्ता बढेको छ । जिल्लामा २१९ गाई, ८६ भैसी, ३४१ बाख्रा, ११३ बंगुर, २५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपंक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी संकलन केन्द्रसमेत खोलिएको छ । सहकारीमार्फत् कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको छ । शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए ।
सहकारीले कृषकलाई भैंसीको दूधको एक सय र गाईको दूधको ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ । “दूध बिक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर संकलन गर्दै आएको छ, त्यसका लागि ६ ठाउँमा संकलन केन्द्र स्थापना गरेका छाैं,” उनले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय सेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्री वितरण गर्दै आएका छन् । दूध बिक्री गरेर कृषकले मासिक एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।
म्याग्दे गाउँपालिकाबाट यो वर्षमात्रै एक लाख ६२ हजार ८८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख ८६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार ९५२ लिटर दुग्ध बिक्री गरेको छ । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका छन् । शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा व्यावसायिक रूपमा पशुपालन गरिएको छ ।
उक्त एग्रो प्रालिमा हाल १५० गाईभैंसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैंसी रहेको एग्रो प्रालिका व्यवस्थापक रहेका विशाल पौडेलले जानकारी दिए । उनका अनुसार ५० भैंसी र ३० गाई दुधालु छन् । फार्मबाट दैनिक ६ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको छ ।