सिद्धार्थनगरमा अत्याधुनिक पेट्रोल पम्प

नेपाल आयल निगमले रूपन्देहीको सिद्धार्थनगरमा रहेको अञ्चलपुर पेट्रोल पम्पको स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको छ । २०३७ सालदेखि सञ्चालनमा रहेको पम्पको निगमले पुनर्निर्माणसँगै स्तरोन्नति गरेको हो । पेट्रोल पम्पबाट प्रतिघन्टा अधिकतम ९ हजार ६ सय लिटरसम्म पेट्रोल तथा डिजेल बिक्री वितरण गर्न सकिने गरी अत्याधुनिक प्रविधि जडान गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
निगमका अनुसार पेट्रोल पम्प सौर्य ऊर्जा प्रविधिबाट पनि सञ्चालन गर्न मिल्ने गरी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण गरिएको पेट्रोल पम्पको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका छन् । उद्घाटनपछि पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
पेट्रोल पम्पले २४ सै घन्टा उपभोक्तालाई सेवा दिने निगमले जनाएको छ । पेट्रोल तथा डिजेल भरेपछि उपभोक्ताले पेट्रोल पम्पबाट अटो प्रिन्टेड बिल प्राप्त गर्नेछन् । पेट्रोल तथा डिजेल भर्न आउने उपभोक्तालाई घामपानीबाट जोगाउन पम्प परिसरमा ९ सय वर्गमिटर क्षेत्रफलमा ओत लाग्ने घर पनि निर्माण गरिएको छ ।
अग्नि नियन्त्रण गर्न डाईमेडिकल पाउडरसहितको फायर एक्टिङगुइसर पनि राखिएको निगमले जनाएको छ । निगमले विभिन्न ठाउँमा रहेको पेट्रोल पम्पलाई स्तरोन्नती गरेर अत्याधुनिक बनाउन लागेको जनाएको छ ।
यसैबीच, सातै प्रदेशमा नयाँ पेट्रोल पम्प खोल्नका लागि निगमले आह्वान गरिसकेको छ । निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई यस्तो व्यवस्था गर्न लागेको हो ।
नयाँ मापदण्डअनुसार नमूना पेट्रोल पम्प र साधारण पेट्रोल पम्प गरी दुई वर्गमा वर्गीकरण गरिएको छ । नमूना पेट्रोल पम्प जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने व्यवस्था छ, तर साधारणपम्पका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।
साधारण पम्प सञ्चालनका लागि नयाँ मापदण्ड निर्धारण गरिएको छ । पूर्वपश्चिम राजमार्गमा १० कट्ठा जमिन हुनुपर्ने प्रावधान छ ।
राजमार्गबाट पम्पसम्मको दूरी कम्तिमा ५० मिटर हुनुपर्नेछ । सहायक तथा व्यापारिक सडकमा २५ सय वर्गमिटर ८ कट्ठा वा ५ रोपनी र सडकदेखि पम्पको दूरी कम्तिमा ३४ मिटर तोकिएको छ ।
त्यस्तै सहायक तथा जिल्ला सडकमा कम्तिमा १२ सय वर्गमिटर वा चार कट्ठा वा २ रोपनी ६ आना जमिन हुनुपर्नेछ । सडक र पम्पको दूरी कम्तीमा २५ मिटर हुनुपर्नेछ ।