सडक निर्माण गर्न एक अर्ब ३५ करोडको आयोजना

एसियाली विकास बैंक एडिबीले सिद्धार्थनगर (भैरहवा)मा पूर्वाधार निर्माण (सडक)का लागि ऋण दिने भएको छ । सहरी विकास मन्त्रालयमार्फत् एसियाली विकास बैंकले नगरका विभिन्न स्थानमा २६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने र यसका लागि एडिबीले सहुलियतदरमा ऋण उपलब्ध गराउने भएको छ । २६ किलोमिटर सडक निर्माणका लागि एडिबीमार्फत् नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा सडक निर्माण हुने भएको हो ।
एसियाली विकास बैंक (एडिबी) को अर्बन रेजिलेन्सलाई भ्लीहुड इम्प्रुभमेन्ट (यूआरएलआई) आयोजनाअन्तर्गत सडक निर्माण हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । पौडेलका अनुसार अनुमानित एक अर्ब ३५ करोड रुपैयाँ बढी लागतमा सिद्धार्थनगर भैरहवाको भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गा कोलोनीलगायतका २८ बढी सडकखण्डमा कालोपत्रेसहित निर्माणकार्य हुनेछ ।
यसअघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजनामा सडक तथा ढल नाला निर्माण योजना सञ्चालन भई सम्पन्न भइसकेको छ । आरयूडिपी आयोजना सञ्चालनको क्रममा देशमै पुँजीगत खर्चको अवस्था निराशजनक भएको बेला समयमै काम सम्पन्न गरेकोले एडिबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कारसमेत प्रदान गरेको थियो । आयोजना सञ्चालनका लागि दसैंअघि नै बोलपत्र आह्वान हुने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । उनले यस पटक पनि सहज र समयअघि नै आयोजना सम्पन्न गर्ने गरी द्रुत गतिमा तयारी भइरहेको बताए ।
एडिबीले रुपन्देहीको पाँचवटा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना सञ्चालन गर्न लागेको छ । पाँचवटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, सहरी विकास मन्त्रालयअन्तर्गत आयोजना समन्वय कार्यालय र एडिबीबीच भएको अनलाइन छलफलमा एडिबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरि र आयोजना समन्वय कार्यालय आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडिबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकाले अन्य पालिकाभन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना सञ्चालन हुने बताए ।
अनलाइन छलफलमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अन्य पालिकाभन्दा सिद्धार्थनगरमा सबैभन्दा अघि आयोजना सञ्चालन गर्न लागिएकोमा खुसी व्यक्त गर्दै आयोजना सम्पन्नका लागि पालिकाबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता जनाएका थिए । उनले नगरपालिकामा क्रमशः विकास भइरहेकाले केही समयमै कामको परिणाम देखिने बताए । निर्माण हुने सडकखण्ड दुवैतर्फ नाला, फुटपाथ, आवश्यकता अनुसार स्ट्रिट लाइट हुनेछ भने निर्माण हुने संरचना बालबालिका, अपांगमैत्री हुने सिद्धार्थनगर नगरपालिकाका आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।
नगरमा सडक संरचनासहितको निर्माणले नगरका हजारौं नगरवासी लाभान्वित हुने विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताइन् । सडकका साथै नगरपालिकाको कार्यालयले नगरवासी र पर्यटकलाई लक्षित गरी डण्डा नदीलाई पनि करिडोरको रूपमा विकास गर्न प्रक्रिया अघि बढाएको छ । जसका लागि विस्तृत गुरुयोजना तयार हुने क्रममा रहेको आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।
डण्डा नदीलाई करिडोरको रूपमा विकास गर्नका लागि एडिबी पनि सकारात्मक छ । डण्ड नदीको कार्य विभिन्न चरणमा सम्पन्न हुने बताइएको छ । प्रथम चरणका लागि ७० करोड रुपैयाँ अनुमान गरी विनियोजन गरिएको छ । डण्डा नदी र जग्गा संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदल यात्रु हिँड्डुल मार्ग, नदीमा बोटिङ, रेस्टुराँ, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्कलगायत संरचना निर्माण हुने उनले बताए ।