बाढीले क्षतिग्रस्त आयोजनालाई सहुलियत माग «

बाढीले क्षतिग्रस्त आयोजनालाई सहुलियत माग

बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि राष्ट्र बैंकले सहुलियतको व्यवस्था गरिदिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । बाढीसँगै जलविद्युत आयोजनामा निजी क्षेत्रले गरेको अर्बौं मूल्य बगाएको भन्दै लगानीकर्ताको मनोबल बढाउनका लागि सहुलियतका व्यवस्था गरिदिन उनीहरूले माग गरेका हुन् । त्यस्ता क्षतिग्रस्त आयोजनाहरूलाई राष्ट्र बैंकले सहुलियतदरमा ऋण उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूको छ ।

विद्युत व्यवासायीको छाता संगठन स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बाढीका कारण क्षति पुगेका आयोजना संचालकलाई राहत स्वरुप सहुलियत ऋणको व्यवस्था गर्नका लागि माग गरेको हो । इपानका अध्यक्ष गणेश कार्कीले बाढीका कारण क्षति पुगेका त्यस्ता आयोजनाहरूलाई राज्यले पनि केही न केही सहयोग गरेर हौसला बढाउनुपर्ने बताए ।

“यति ठूलो लगानी भएको क्षेत्रलाई विपतले असर गरेको छ ,चलिरहेको परियोजनामा क्षति पुगेको छ, निमार्णाधिन आयोजनाको पनि निर्माण सम्पन्न गर्न अर्को २ वर्ष लाग्न सक्छ, अब ऋण कसरी तिर्ने ?” उनले भने,“राष्ट्रबैंकले विशेष सहुलियतको व्यवस्था गर्नुपर्छ , सरकारले पनि प्याकेजमा केही गर्नुपर्छ, केही ऋण राज्यले पनि तिर्नुपर्छ ।”

गत असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीका कारण साढे ८ अर्व बराबरको जलविद्युत आयोजनाहरूमा क्षति पुगेको अनुमान गरिएको छ । पूर्वी नेपालमा आएको अप्रत्यासित बाढीका कारण ४६३ मेगावाटका ३० आयोजनामा क्षति पुग्दा साढे ८ अर्ब क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।

इपानका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरमा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ ।

विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी–१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । इपानका अनुसार निर्माणाधिन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति भएको छ । बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ । उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शब भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपत्तीका कारण,जलविद्युत आयोजना, खानेपानी आयोजना, सडक, पुल वस्ती, विभिन्न सार्वजनिक भवनहरूमा क्षति पुग्दा अर्बौंको नोक्सानी पुगेको भन्दै विपत मैत्री संरचना बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्