वर्षा लागेसँगै लापिलाङबासीमा पहिरोको त्रास

दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङका श्यामबहादुर श्रेष्ठ वर्षा सुरु भएसँगै त्रासमा हुन्छन् । बिहानैदेखि साँझसम्म उज्यालो हुँदा गाउँको यताउता डुल्छन्, टोलाउँछन् । पहिरो आसपास हेर्छन् । नयाँ मान्छे आए उनीहरूका छेऊ पुग्छन् कुरा सुन्छन् । उमेरले ८१ वर्ष पुगेका श्रेष्ठ टोलाउन थालेको चार वर्ष पुग्यो । उनी बेचैन जस्तै भएका छन् ।
आफ्ना पूर्खा र आफूले दुःख गरेर जोडेको थातथलो चार वर्षअघिको पहिरोले नामनिसान मेटिने गरी बगाएपछि ऊनी बेचैनजस्तै भएका हुन् । तीन वर्षदेखि लगातारको पहिरोका कारण लापिलाङका झण्डै दुई दर्जन परिवारको उठिबास नै लागेको छ । रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मका बस्तीमा पुगिसकेको छ । लापिलाङमै जन्मेहुर्केका श्यामले यस्तो पहिरो जीवनमा पहिलो पटक देखेका हुन् ।
वर्षौंदेखि खेती गर्दै आएको गाउँभरिकै नम्बरी खेत र बारी श्रेष्ठ परिवारकै थियो । बाख्रावस्तु पाल्न घाँसपातको पनि राम्रै व्यवस्था थियो । तर चार वर्षअघि घट्टे खोलामा आएको पहिरो र बाढीले श्यामसहित नेवार परिवारको जग्गा बगाएको छ । अहिले त्यतातिर जग्गा थियो भन्नेबाहेक अरु केही पनि छैन । श्यामजस्तै एक दर्जन नेवार परिवारको जग्गाजमिन सबै पहिरोमा परेपछि अहिले सुकुम्बासीजस्तै भएका छन् ।
गाउँको माथि र तलबाट पहिरोको चेपमा परेका कालिञ्चोक गाउँपालिका–५ लापिलाङबासीलाई पानी पर्ने बेला फेरि पहिरोले सताउने हो कि भन्ने चिन्ता छ । चार वर्षदेखि गाउँको माथि र तलबाट निरन्तर पहिरो गइरहेको छ । सुनखानी साँङबा जाने मुख्य सडक नै बगायो । सबैभन्दा राम्रो जग्गा भएकाले यहाँ खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, होटलसहितको बजार नै बसेको थियो । धेरैले घडेरी किनेर पक्कि घर बनाएका थिए । त्यसमध्ये आधा दर्जन घरसमेत पहिरोमा परेको छ । बजार उठिसक्यो ।
सक्ने गाउँ छाडेर अन्यत्र गए । नसक्ने यहीं बसेका छन् । विगतका तीन वर्ष धेरै परिवार घर छाडेर अन्यत्र बसे । पहिरो नरोकिएकाले अहिले पनि विगतकै नियति भोग्नु पर्ने त्रास रहेको स्थानीय सुनिता पाण्डे बताउँछिन् । लापिलाङ पहिरो बागमती प्रदेशको मेलम्चीको बाढीपछिको सबैभन्दा ठूलो प्रकोप हो । पहिरोबाट भएको जग्गाजमिन र घर बगाएपछि एउटा नेवार बस्ती पूरै विस्थापित भएको छ । बन्देथलीका एउटा थामी बस्ती अन्यत्र सारिएको छ । भएका जग्गा जमिन पहिरोले तानेपछि कुनै विकल्प नभएर विस्थापित भएका हुन् ।
पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भू-भाग दिनहुँ कटान गरेको छ । वन क्षेत्रदेखि खोलीकिनारसम्मको भूगोलमा मात्रै झण्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकाले लापिलाङका आधादर्जन बस्तीमा जोखिम सिर्जना भएको हो । पहिरो रोकथामका लागि गत वर्ष बागमती प्रदेश सरकारले दुई करोड खर्च गर्यो । त्यो पनि पहिरोमै बग्यो । स्थानीय सरकारले पहिरो प्रभावित क्षेत्रका स्थानीयलाई विगतमा स्थानीयका घरभाडामा लिएर बस्ने व्यवस्था गरेको थियो । अहिले पनि करिब चार सय घर पहिरोबाट प्रभावित छन् ।
अहिले पनि त्यही विकल्पमा छन् । पहिरो निरन्तर बगिरहेकाले स्थानीय सरकार पनि यो आफ्नो काबु बाहिरको कामभन्दै माथिल्ला सरकार गुहार्दै आएको छ । कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जोखिमयुक्त घरमा स्थानीयलाई नबस्न उर्दी जारी गरेको बताउँछन् । “अघिल्लो वर्ष पनि हामीले जोखिमयुक्त घर हुने जतिका लागि खाली घर भाडामा लिइदिएका थियौं,” उनले भने, “पहिरो रोकथाम हाम्रोमात्र काबुमा छैन, अहिले आफू जोगिने नै हो, बस्नको वैकल्पिक व्यवस्था गरेका छौं ।”
पहिरो रोकथामका लागि संघ र प्रदेश सरकारमा अनुरोध गरिएको उनले बताए । प्राकृतिक प्रकोप थेग्न त सकिँदैन तर न्यूनीकरण र क्षति कम गर्न सकिन्छ । मानवीय क्षति हुन नदिन र आफ्नो सर्वस्व गुमाएकाका लागि राहतको व्यवस्था पनि सरकारले गर्नुपर्छ । वर्षात् सुरु भएसँगै बाढी पहिरोको प्रकोप बढेकाले आफ्ना जनता जोगाउन सरकारले बेलैमा योजना बनाएर काम गर्नुपर्ने अवस्था छ ।