दूधको मूल्य बढाउन माग

भरतपुर-चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य नबढाए आन्दोलनमा जाने चेतावनी दिएको छ । तीन वर्ष पहिलेदेखिको मूल्य समायोजन नगरिएको भन्दै संघले एक साताभित्र मूल्य बढाउन माग गरेको छ । “दूधको मूल्य २०७४ सालको छ, दाना चोकरको मूल्य २०७६ सालको छ,” सचिव किशोर बगालेले भने, “दुग्ध किसान घाटामा छन्, अविलम्ब मूल्य बढाउनुपर्छ ।” उनले एक हप्ताभित्र मूल्य नबढाए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
चितवन दूधमा आत्मनिर्भर घोषणा भइसकेको छ । तर, किसान, दुग्ध सहकारी निरास छन् । अध्यक्ष रत्नमणी न्यौपानेले दूधको लागत बढेकाले मूल्य वृद्धि गरेर किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनका अनुसार २०७४ सालमा मूल्य निर्धारण गर्दा प्रतिकेजी दानाको मूल्य २२ रुपैयाँ ५० पैसा र दानाको २५ रुपैयाँ मूल्य थियो । “चोकर अहिले ३७ रुपैयाँ ५० पैसा, दाना ३७ रुपैयाँ पुगेको छ,” उनले भने, “एक लिटर दूध उत्पादन गर्न ६३ रुपैयाँ परेको छ, पुरानो मूल्यले किसान मारमा परेका छन् ।” उनले प्रतिलिटर दूधमा न्यूनतम १० रुपैयाँ नघटाइ वृद्धि गर्नुपर्ने माग गरे । “१० रुपैयाँ बढाउँदा उपभोक्ताले किन्ने दूधमा मूल्य बढ्दैन,” उनले भने, “किसानले बेच्ने र उपभोक्ताले खरिदको मूल्यमा धेरै ‘ग्याप’ छ, यही फरक कम हुने मात्रै हो ।”
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघले ४ बुँदे माग सार्वजनिक गरेको छ । प्रतिलिटर दूधमा १० रुपैयाँ वृद्धि, दुग्ध उत्पादक सहकारी, व्यवसायी किसानलाई कर छुटको व्यवस्था, विद्युत् महसुलमा ५० प्रतिशत छुट, दुग्ध तथा दुग्धजन्य पदार्थ आयातमा रोक लगाउनुपर्ने माग राखेका छन् । “बेरोजगारीलाई काम दिने, युवालाई स्वदेश फर्काउने हो भने दूधको मूल्य समायोजन हुनुपर्छ,” संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले भने, “दूधको मूल्य निर्धारण गर्न आयोग बनाइनुपर्छ, कृषि तथा पशुपालनमा व्यावसायिकरूपमा जाने वातावरण बनाउनुपर्छ ।” एक वर्ष पहिले ३ रुपैयाँ प्रोत्साहन रकमसमेत डीडीसीले कटौती गर्दा व्यवसायीनै पलायन हुने अवस्थामा पुगेको बताए । “न्यूनतम लागत मूल्यसमेत नपाएको अवस्था छ”, जिल्ला उपाध्यक्ष कृष्ण सापकोटाले भने, “लागत मूल्यमै खरिद गर्नुपर्छ, त्यो वातावरण सरकारले बनाउनुपर्छ ।”
उनले डीडीसीले भारतबाट प्रतिलिटर करिव ६५ रुपैयाँमा कच्चा दूध ल्याउने काम गरेको बताए । “स्वदेशको उत्पादनले मूल्य पाएको छैन, भारतबाट ल्याउने दूधले मूल्य पाएको अवस्था छ,” उनले भने, “मूल्य नबढे भारतबाट दूध आयात गर्ने ट्यांकरनै चल्न दिँदैनौं ।” संघका पूर्वअध्यक्ष शंकरराज राजभण्डारीले न्यूनतम मूल्यसमेत किसानले पाउन नसकेको बताए । “धेरै किसानले ४० देखि ४३ रुपैयाँ बराबरको मूल्य पाउँछन्,” उनले भने, “लागत अनुसारको मूल्य नै छैन ।”
डीडीसीले ५ दशमलव ५० फ्याट र २ दशमलव ९२ एसएनएफ हुँदा प्रतिलिटर दूधको मूल्य ४८ रुपैयाँ ३६ पैसा दिन्छ । “तीन वर्ष यता किसान घाटामा छन्, आन्दोलनमा जानु बाध्यता हो,” राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमल्सिनाले भने, “मूल्य नपाउँदा किसान निरास छन्, कैयन पलायन हुँदैछन् ।” विकास बोर्डमा दूधको मूल्य वृद्धि गराउनेबारे कैयन छलफल भएको बताए । “सबैमा महंगीले छोएको छ, मूल्य वृद्धि गर्न कृषिमन्त्रीको ध्यानाकर्षण गराइरहेका छौं,” उनले भने, “सुनवाइ भएन, अब पनि वेवास्ता भएमा आन्दोलननै हुन्छ ।” दुग्ध उत्पादक सहकारी संघका अनुसार चितवनमा ६३ प्रतिशत दुग्ध किसान छन् । दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुन्छ । संघमा १ सय ४ दुग्ध उत्पादक सहकारी आवद्ध छन् ।