Logo

परम्परागत सीप सिकेर आत्मनिर्भर

उत्तरी धादिङ भौगोलिक विविधताले भरीपूर्ण हिमाली क्षेत्र हो । यी क्षेत्र सडक सञ्जालदेखि निकै पर छ । त्यसकारण पनि बालबालिकाहरु गाँउमै पठनपाठन गर्छन् । उनीहरु पठनपाठन मात्र गर्दैनन्, विद्यालय समय अघिपछि घरायसी काम, लेखपढ र नगद आर्जनका लागि थुन्से डाला बुन्छन् । स्कुल जानु जस्तै थुन्से डाला बुन्नु बालबालिकाको दैनिकी हो ।

उनीहरु स्कुल समय स्कुल समयपछि साँझपख धुसेनीका मेलिना तामाङ र पासाङडोल्मा तामाङ थुन्से बुन्नमा व्यस्त हुन्छन् । मेलिना कक्षा ९ र पासान्जेल कक्षा ७ मा गंगाजमुना गाउँपालिका–२ रि तावलमा स्थिते पासाङ चोक माध्यमिक विद्यालयमा अध्ययन गर्दछन् । विद्यालयबाट घर पुग्ने बित्तिकै खाजा आएपछिको काम शुरु हुन्छ थुन्से बुन्ने । थन्से डाला बुन्ने काम गर्ने यी दुई जना प्रतिनिधि पात्र हुन् । गंगाजमूना गाउँपालिका वडा नं. १ र २ साविकको रि गाविसका अधिकांश बालबालिका सानैदेखि डोको, डालो र थुन्से बुन्न सिक्छन् ।

पठाइ र घररायसी कामका अलवा उनीहरु चोयाको डोको, डालो, थुन्से बनाउन लागि पर्छन् । र यसैबाट आयआर्जन गर्छन् । धादिङको उत्तरी क्षेत्रमा पर्ने लताब, धुसेनी र तावलका विद्यालय उमेरका बालबालिका बिदा र फुर्सदको समयमा थुन्से बुन्छन् । थुन्से बिक्रीबाट आएको रकम आफ्ना अभिभावकले सञ्चालनमा ल्याएको पासाङ चोक कृषि सहकारी संस्थामा जम्मा गर्ने गरेको धुसेनीका मेलिना तामाङ बताइन् । थुन्से बिक्रीबाट आएको पैसा सहकारीमा १० हजारभन्दा बढी जम्मा भइसकेको मेलिनाले बताइन् ।

लताब, धुसेनी, तावलका उच्च शिक्षा अध्ययन गर्ने युवा निकै कम छन् । कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्यायन गनर्ने भन्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढी भएको तावलका मानबहादुर तामाङ बताए । लताब, धुसेनी, ताबललगायतका क्षेत्रका ५ वर्षभन्दा माथिका बालबालिका बाँसको चोयाबाट बन्ने थुन्से बुन्ने काम गर्दछन् । बिदाको दिनमा दिनभरमा एउटा थुन्से सजिलै बुन्न सक्ने कक्षा ५ मा अध्ययनरत सूर्य तामाङले बताए ।

आफूले बुनेको थुन्सेको रकम आमाबुबाले सहकारीमा लगेर राखिदिने गरेको बताउँछन् । आफ्नो नाममा रहेको रकम उच्च शिक्षाका लागि जम्मा गर्दै गरेको सूर्यले बताए । अर्का कक्षा ९ मा अध्ययनरत माइत तामाङले पनि थुन्से बुनेर कमाएको पैसा उच्च शिक्षाका अध्यायनका लागि नै जोहो गर्ने सोच छ । केही रकम घर खर्च टार्नमा अभिभावकलाई मद्दत गर्ने पनि बताए ।

आफ्ना बालबालिकाको उज्वल भविष्यका लागि आफूहरुले बाल बचत गर्ने गरेको सहकारी संस्थाका अध्यक्ष कान्छाबहादुर तामाङ बताए । तलाब, धुसेनी र ताबलमा रहेका विद्यालयका शिक्षकहरुले पनि विद्यार्थीलाई सहकारीमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने गरेको देउराली प्राथमिक विद्यायका शिक्षक राहुल तामाङले बताए । पछिल्लो समय थुन्सेका लागि आवश्यक निगालोको चोयाका लागि आफ्नै बारीमा नियालो खेती बढाउन थालेका छन् ।

कतिपयले धादिङ र गोरखाको सीमानामा पर्ने मान्द्राङ, बिन्द्राङलगायतका स्थानमा पुगेर निगालो ल्याउने गरेका छन् । उक्त स्थानमा पुग्नका लागि गाउँबाट दुई दिन खर्चनु पर्छ । एक सातासम्म नै जंगलमा बसेर स्थानीयले नियालबाट चोया बनाएर घर ल्याउने गर्दछन् । त्यस क्षेत्रका अधिकांशले कृषि कर्मपछिको मुख्य काम नै थुन्से बुन्ने हो । आफूले बुनेको थुन्से व्यापारीलाई २०० देखि २८० सम्म बेच्ने गरेको स्थानीय मायाचोम तामाङले बताए ।

तामाङका अनुसार आफ्ना बालबालिकाले बुनेको थुन्से बिक्रीबाट प्राप्त रकम सहकारीमा लगेर जम्मा गरिदिने गरेका छन् । आफूहरुले पनि घर खर्चबाट बाँकी रहेको रकम सहकारीमा नै जम्मा गर्ने गरेको तामाङको भनाइ छ । यि गाउँमा मात्र वार्षिक तीन/चार लाख डोको, थुन्से र डाला बिक्रीबाट २० करोड रुपयाँभन्दा बढी रकम आम्दानी गर्छन् । घरको आम्दानीको श्रोत नै चित्रा फुङ्गा भएकोले यहाँका बालबालिकाले सानैदेखि डोको, डालो र थुन्से बुन्न सिकेका हुन्छन् । पढाइ र घरायसी काम सकेर बचेको समय डोको, डालो, थुन्से बुन्न लाग्छन् ।

प्रतिक्रिया दिनुहोस्