Logo

प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिईएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने,“समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टौ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ, ।”

त्यस्तै संसदमा विचाराधिन अधिकांश आर्थिक विधेयकलाई अगाडी बढाउन सहजिकरण गरीदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, “निजी क्षेत्रसँग सम्वन्धित आर्थिक तथा अन्य विधेयक समयमै पारित हुन नसकेकाले कतिपय समस्या सम्बोधन हुन सकेका छैनन्, यसका लागि पनि सहजिकरण गर्नुपर्छ ।”

चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा जोड दिएको छ । खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रर्वद्धनका लागि विदेशी लगानी सम्मेलन यथाशिघ्र आयोजना गर्न चेम्बरले मुख्य सचिव डा अर्यालको ध्यानाकर्षण गराएको छ ।

वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न पनि उसले भनेको छ । चेम्बर अध्यक्ष मल्लले भने,“विश्वमा सूचना प्रविधीयुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय ठूला आइटी कम्पनीको व्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजीमार्फत गरेर आइटी उद्योगहरुलाई विकास गरिनुपर्दछ, ।”

चेम्बर पदाधिकारीसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका थिए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको बताए ।

जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासँग पनि जोडिएको उनको भनाइ छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा. अर्यालले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए । भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलनको लक्ष्य वृद्धि एवं पुँजीगत खर्च समयमै गर्नेगरी नीतिगत व्यवस्थाको तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्