निर्यात प्रवर्द्धन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा बताएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका छन् ।
नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्ब हाराहारीमा निर्यात सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, ‘‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका वस्तुहरुको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफी जस्ता वस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन ।’’
नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले करको दर भन्दा पनि दायरा बढाउने तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै संकुचित हुन पुगेको बताए ।
केही वस्तुहरुको आयात प्रतिबन्ध लाग्दा राजश्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने उनको भनाइ थियो । मुलुकको आर्थिक नीतिमा सबै दलहरु एकै ठाउँमा उभिनुपर्नेमा पनि मल्लले बताए । बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेमा सबै दलहरुको एउटै धारणा बन्नुपर्ने उनको भनाइ छ ।