गण्डकीको आर्थिक वृद्धिदर ३.७४ प्रतिशत «

गण्डकीको आर्थिक वृद्धिदर ३.७४ प्रतिशत

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर केही सुधार भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले दिएको तथ्यांक अनुसार गण्डकीको अन्य प्रदेशकोभन्दा केही उच्च ३.७४ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र रहेको छ ।

गण्डकी प्रदेशमा क, ख र ग वर्गका बैंकहरुको कुल कर्जा संकलन चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ खर्ब ३९ अर्ब रुपैंया रहेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रधान सहायक तारा पोखरेलले बताइन् । चालु वर्षको चैत मसान्तसम्म प्रदेशमा उक्त बैंकबाट ३ खर्ब ५१ अर्ब ९२ करोड कर्जा लगानी भएको उनले जानकारी दिइन् ।

प्रदेशमा क वर्गका बैंकका शाखा ५ सय ९९, ख वर्गका बैंकका शाखा १ सय ९०, ग वर्गका बैंकका शाखा ३६ र घ वर्गका वित्तीय संस्थाको संख्या ५ सय ९९ रहेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म गण्डकी प्रदेशको ९ प्रतिशत कुल ग्रार्हस्थ उत्पादनमा योगदान रहेको छ । प्रदेशले ४ खर्ब ८२ अर्बको कुल ग्रार्हस्थ उत्पादनमा योगदान दिएको प्रधान सहायक पोखरेलले बताइन् ।

गण्डकी प्रदेशको प्रति व्यक्ति आम्दानी १ हजार ४ सय ९२ अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशमा निर्माणको क्षेत्रमा उक्त बैंकले आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ अर्ब ३९ करोड लगानी भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । प्रदेशमा उर्जा क्षेत्रमा ५८ करोड मात्र लगानी भएको छ । यद्यपी प्रदेशमा भएका बैंकहरु मध्ये केहीले केन्द्रबाटै कर्जा लगानी गरेको कारण प्रदेशमा यसको लगानी कम देखिएको बैंकर्सहरुले बताएका छन् ।

गण्डकी प्रदेशमा सेवा क्षेत्रमा २ खर्ब ६६ अर्ब ९६ करोड लगानी भएको राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ८५ वटै पालिकामा बैंकको पहुच पुगेको छ भने प्रदेशमा घ बर्गसम्मका बैंक तथा वित्तीय संस्थाको शाखा १ हजार ४ सय २४ पुगेको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशमा सहुलियतपूर्ण २९ अर्ब १५ करोड कर्जा लगानी भएको छ । कृषि, सेवा, उद्योग लगायतका १४ शिर्षकमा करिब ५ प्रतिशतको सहुलियतपूर्ण कर्जा लगानी भएको देखिन्छ ।

कृषि क्षेत्रतर्फ प्रभावित कर्जामा २९ अर्ब १८ करोड लगानी भएको राष्ट्र बैंकले जनाएको छ । पर्यटन क्षेत्रमा गण्डकी प्रदेशमा १९ अर्ब ७९ करोड लगानी भएको छ । यो प्रतिशतमा ९.६९ प्रतिशत हुन आउँछ । त्यसमध्ये २ खर्ब ४ अर्ब १६ करोड रुपैंया राष्ट्रिय स्तरको पर्यटन क्षेत्रमा लगानी भएको छ । प्रदेशमा औद्योगिक क्षेत्रमा ३५ अर्ब १२ करोड लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्