Logo

प्रदेशका योजना अधुरै

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश सरकारका तर्फबाट आएको बजेट मध्ये ५६ दशमलव ७१ प्रतिशत मात्रै रकम खर्च भएको छ ।

सिन्धुली-प्रदेश–३ सरकारका अधिकांश योजनाको रकम खर्च हुन नसक्दा फिर्ता भएको छ । सिन्धुलीमा प्रदेश सरकारले सुरु गरेका विभिन्न महत्वाकांक्षी योजनाका लागि आएको बजेट खर्च हुन नसकेको हो । जिल्लामा प्रदेशमार्फत आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन बजेटमध्ये आधा मात्रै रकम खर्च भएको छ । समयमै बजेट नसक्दा छनोट गरिएका अधिकांश योजना अधुरा रहेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश सरकारका तर्फबाट आएको बजेट मध्ये ५६ दशमलव ७१ प्रतिशत मात्रै रकम खर्च भएको छ । पुँजीगततर्फ ६३ करोड ७३ लाख ७१ हजार रूपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड १४ लाख ५२ हजार रूपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका कोष नियन्त्रक सुरेशप्रसाद दाहालले बताए ।
त्यस्तै प्रदेश सरकारको चालूतर्फको बजेटमा पनि ७३ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको छ । दाहालका अनुसार चालूतर्फ ३२ करोड १८ लाख बजेट विनियोजन भएको मध्ये २३ करोड ५० लाख ५ हजार मात्रै खर्च भएको छ ।
संघ सरकारको बजेटतर्फको खर्च पनि उत्साहजनक देखिएको छैन । अघिल्लो वर्षको तुलनामा आव २०७५-७६ मा चालू र पुँजीगततर्फकै बजेट कम खर्च भएको कोष तथा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । संघ सरकारको पुँजीगततर्फ कुल बजेट १ अर्ब ३० करोड ३० लाख ७५ हजारमध्ये ९३ करोड २६ लाख ५१ हजार अर्थात ७१ दशमवल ५७ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७४-७५ मा पुँजीगततर्फ ७४ दशमलव ६० प्रतिशत खर्च भएको थियो ।
संघ सरकारको चालूतर्फको बजेट अघिल्लो वर्ष ९४ दशमलव ४६ प्रतिशत खर्च भएकोमा यो वर्ष ९१ दशमलव ४१ प्रतिशत मात्र खर्च भएको देखिन्छ । ७ अर्ब ४६ करोड २ लाख २७ हजार विनियोजित बजेट मध्ये ६ अर्व ८१ करोड ९५ लाख ५८ हजार खर्च भएको कोष नियन्त्रक दाहालले बताए ।
कोष नियन्त्रक दाहालका अनुसार आर्थिक वर्ष २०७५-७६ मा संघ सरकारतर्फ ३० करोड ४६ लाख ९१ हजार राजस्व असुली भएको छ भने प्रदेश सरकारतर्फ १ करोड २६ लाख ३ हजार राजस्व असुली भएको छ ।

नमूना योजनाको बजेट फ्रिज

प्रदेश नम्बर ३ को कृषि तथा भूमि व्यवस्था मन्त्रालय र दूधौली नगरपालिकाको सहकार्यमा सुरु गरिएको सामुहिक खेती चक्लाबन्दीमा अहिले धमाधम धान रोपाइँ भइरहेको छ । १२१ विगाह जमिनमा खेती सुरु गर्ने भनिए पनि यो वर्ष ५० विगाह जमिनबाट सामूहिक खेती सुरु गरिएको हो ।
सामूहिक चक्लाबन्दी खेतीलाई आवश्यक पर्ने १० थान यन्त्र उपकरण अनुदानमा वितरणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा विनियोजन गरेको रकम खर्च नै भएन । प्रदेश सरकारले सामूहिक चक्लाबन्दी खेतीका लागि ठूलो ट्याक्टर, धान काट्ने, धान रोप्ने, प्रशोधन गर्नेलगायतका १० थान ठूला कृषि उपकरण वितरण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । तर उक्त यन्त्र-उपकरणका लागि कुनै पनि आवेदन नपर्दा बजेट रकम नै फ्रिज भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताए । उनले भने, “हामीले दुई पटकसम्म आवेदन आह्वान ग-यौं । तर आवेदनमा कसैले चासो देखाएनन् । आवेदन नआएपछि रकम उसै फ्रिज भयो ।”
प्रदेश सरकारले नै ३६ लाख बजेटमा गोलञ्जोर गाउँपालिकाको ५ नम्बर वडादेखि चिसापानी नयाँखर्क हुँदै भक्तिरामसम्म जोड्ने कृषि सडक निर्माण योजनाको पनि केही काम भएन । कृषि सडक स्तरोन्नति, ड्रेन निर्माणलगायतका कामका लागि बजेट आए पनि असार मसान्तसम्म पनि उपभोक्ता समितिको कुरा नमिल्दा काम सुरु हुन नसकी सवै रकम फ्रिज भयो । सिन्धुलीमा प्रदेश सरकारले छनोटका गरेका यस्ता अन्य योजनाको पनि काम नहुँदा बजेट फ्रिज भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्