मनाङमा लैंगिक हिंसाका घटना शून्य

लमजुङ-जिल्ला प्रहरी कार्यालय मनाङले महिला हिंसा तथा बालबालिका सम्बन्धी अहिलेसम्म कुनै मुद्दा तथा उजुरी नपरेको जनाएको छ । अन्य जिल्लाको तुलनामा कमैमात्र मुद्दा तथा उजुरी आउने मनाङमा अहिलेसम्म महिला हिंसा तथा बालबालिका सम्वन्धी कुनै उजुरी नआएको प्रहरी तथ्यांकले देखाएको हो ।
जिल्लामा महिला तथा बालबालिका सम्वन्धी घटनाहरू नभएर नै कुनै उजुरी नआएको प्रहरीको दाबी छ । सदरमुकाम चामेस्थित जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्र शाखा रहेपनि हालसम्म कुनै उजुरी नपरेको महिला युनिटकी प्रहरी हवल्दार अम्विका पाण्डेले बताइन् ।
थोरै जनसंख्या भएकोले लैगिक हिंसा सम्वन्धी घटनाहरू पनि खासै नभएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी सानातिना घटनाहरू स्थानिय संस्कृति परम्परा अनुसार नै गाउँमा मेलमिलाप हुने हुँदा प्रहरीसम्म नआएको पनि अनुमान गरिएको छ । न्यायको निम्ती प्रहरी वा सम्वन्धित निकायमा जानुपर्छ भन्ने सचेतना नहुँदा पनि प्रहरीमा मुद्दा तथा उजुरी नआएको मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
प्रनाउ कार्कीका अनुसार पछिल्लो समय प्रहरीले स्थानीय तहहरूसँग समन्वय गरी समुदाय तथा विद्यालयहरूमा लैंगीक हिंसा सम्बन्धी सचतेना जगाउने कार्यक्रमहरू शुरु गरेको छ । स्थानीय तहका जनप्रतिनिधी, समुदायका अगुवा, विद्यालयका शिक्षक, विद्यार्थी एवं सर्वसाधरणहरूमा लैगिक हिंसाका प्रकृति, न्यायको निम्ति प्रक्रिया लगायत आत्मसुरक्षाका प्रकृयाबारे जानकारी गराउन अभियान नै सञ्चालन गरेको प्रनाउ कार्कीले बताए ।
प्रहरीले राष्ट्रिय कार्यक्रम अन्तर्गत स्थानीय तहमा सचेतना तथा सुरक्षाका लागि लैगिक हिंसा विरुद्ध गतिविधी सञ्चालन गर्न सरोकारवालाहरूको सहभागितामा समिति नै गठन गरिएको प्रनाउ कार्कीको भनाइ छ । समितिहरूलाई सक्रिय बनाउँदै आम समुदायमा सचेतनामूलक कार्यक्रम अघि बढाईएको मनाङ प्रहरीले जनाएको छ ।
मनाङका स्थानीय तहहरूमा पनि अहिलेसम्म महिला हिंसा सम्वन्धी कुनै उजुरी नआएको ङिस्याङ गाउँपालिका उपाध्यक्ष मेंख्यु गुरुङले बताइन् । महिला हिंसा तथा बालबालिका सम्वन्धी उजुरी नआउनुलाई सकरात्मक ठानिएपनि सर्वसाधारणमा कानुनी सचेतना नभएकोले पनि यस्ता घटनाहरू बाहिर आउन नसकेको अनुमान गरिएको छ । आगामी दिनमा महिला तथा बालबालिकाहरूमा कानुनी सचेतनाका कार्यक्रम गर्नसके समुदायको यथार्थ बाहिर आउन सक्ने सरोकारवालाहरूको धारणा छ ।
विश्वका धेरैजसो समाजमा लैंगीक हिंसा प्राचिनकाल देखि नै समस्याको रूपमा देखिँदै आएको पाईन्छ । पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, परिश्रम नदिनु वा कम दिनु, अश्लील शब्द बोल्नु, अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसाका प्रकृति हुन् । विश्वका अधिकांश समाजमा पुरूष भन्दा महिलाहरू बिभिन्न प्रकार हिंसाबाट बढी पीडित भएका कारण लैंगिक हिंसाको विषयमा महिला हिंसा केन्द्रित भएको पाइन्छ ।
सन्देश पौडेल-नेगम परियार