फोहोरमैलाबाट बायोग्यास उत्पादन

झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु भएको छ । झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरेका हुन् ।
कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्न शुरु गरेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले बताए । कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले कनकाई–२ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी बायोग्यास प्लान्ट स्थापना गरेर फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरिएको उनले बताए ।
हाल बायोग्यास परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिकरुपमा बायोग्यास वितरण बताउँदै उनले उत्पादित बायोग्यासको सिलिण्डर उद्योग र होटलमा बढी उपयोगी हुने जानकारी दिए । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा बायोग्यास उत्पादनका लागि २२ करोड लगानी रहेकोमा विश्व बैंकको ४० प्रतिशत र ६० प्रतिशत लगानी कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले व्यहोर्ने सहमति भएको उनले बताए । विश्व बैंकले पाँच करोड ४६ लाख रुपैयाँ अनुदान दिएको प्लान्टमा कम्पनीमार्फत हाल ७५० जनाले १० हजारदेखि एक करोड रुपैयाँसम्म सेयर लगानी गरेको उनले बताए ।
कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोर प्रयोग गरेर बायोग्यास उत्पादन गरिने बताउँदै उनले हाल परीक्षणका लागि स्थानीय जंगलमा पाइने झारपातलाई समेत प्रयोगमा ल्याएर बायोग्यास उत्पादन गरिरहेको जानकारी दिए । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा कुहिने फोहोरबाट बायोग्यासको उत्पादनसँगै जैविक मलसमेत उत्पादन गरिने बताउँदै उनले नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स निर्माण सामग्री उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।
चार हजार टन क्षमताको प्लाण्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिए । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिण्डर १५० रुपैयाँ सस्तो पर्ने बताउँदै उनले उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुने जनाए ।
यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताए । बायोग्यास उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने योजना रहेको कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताए । प्लान्ट सञ्चालनमा आएपछि कुहिने र नकुहिने दुवै प्रकारको फोहोर व्यवस्थापन हुने र २५ वर्षसम्म फोहोर व्यवस्थापनको चुनौती समाधान हुने उनले बताए ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले बायोग्यास उत्पादन सुरु भएपनि बजारीकरणका लागि छलफल भइरहेको बताइन् । उनले तीनैवटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना रहेको बताउँदै ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको जानकारी दिइन् ।
बिर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने बताउँदै उनले हाल प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको बताइन् । बिर्तामोड नगरपालिकासँगै झापाका ठूला सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा फोहोरमैलाबाट बायोग्यास उत्पादन हुनु झापावासीकै लागि गौरवको विषय भएको र यसमा सबैको सहयोग हुनुपर्ने उनले बताइन् ।