Logo

तिलिचोभन्दा पनि उचाईमा अर्को ताल भेटियो

मनाङमा नयाँ ताल पत्ता लागेको छ । चामे घर भइ अमेरिकामा बस्दै आएका व्यक्तिले गुगलमा नयाँ ताल देखे । त्यो खबर गाउँमा गरे । ताल भएको स्थान वरपरका याक, चौंरी, भेडा गोठालाहरूलाई सोध्दा ताल भएको जानकारी आएपछि चामेबाट गएको स्थलगत भ्रमण समूहले अमेरिकाबाट भनिएको खबरअनुसार नै ताल भएको पुष्टि गरेको हो ।
चामे पर्यटन मार्ग सुरक्षा एवं पर्यटनस्थल अनुगमनका लागि चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समिति र स्थानीयसहित २४ जनाको समूह ताल पहिचानको लागि साउन ५ गते स्थलगत भ्रमणको लागि गएको थियो । उक्त समूह स्थलगत अध्ययन भ्रमणबाट ७ गते सदरमुकाम फिर्ता भएको भ्रमणमा गएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर बानियाँले बताए ।
सदरमुकामस्थित चामे गाउँपालिका–४ मा ताल पहिचान भएको हो । साढे एक दिन पैदल हिडेर तालमा पुगेको उक्त समूहले करीब ३ दिन अवलोकन गरेको थियो । बानियाँले भने, “नयाँ तालको नाम काजिन सहारा अर्थात् सिङ्गर ताल नामाकरण गरिएको छ ।”
बानियाँका अनुसार सो स्थानमा चौंरी खर्क, भेडी गोठ तथा गोठाला पुग्नेबाहेक स्थायी रूपमा मानव बस्ती भने छैन । “चामेबाट २४.५ किलोमिटरको दूरीमा ताल छ, उक्त मार्ग पैदलयात्राको हिसाबले पनि चुनौतीपूर्ण छ,” उनले भने ।
विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको समुन्द्री सतहबाट ४९१९ मिटर रहेको भने भरखरमात्र पत्ता लागेको चामे गाउँपालिका ४ स्थित पर्ने काजिन सहारा तालको उचाई समुन्द्री सतहबाट ५००२ मिटर रहेको बताइएको छ । उचाईका हिसाबले यो तालले मनाङमा रहेको विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललाई समेत पछि पार्न सफल भएको हो । यो तालको गहिराई र लम्बाई तथा चौडाई भने पत्ता लागेको छैन पछिल्ला दिनहरूमा यस्को पनि नाप लिनका लागि प्राविधिक टोलीसहित पुनः काजिन सहारा ताल सिङ्गर तालजाने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताएको उधृत गर्दै प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर बानियाँले बताए ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले पर्यटन प्रबद्र्धनका लागी  यस्ता नयाँ र भइरहेका स्थलको सुरक्षाका लागि सधैँ नेपाल प्रहरी साथ रहने र साथ दिने बताए । नयाँ ताल र तालसम्म पैदल यात्राका लागि सुरक्षित र व्यवस्थित बनाउन चामे गाउँपालिकाले तुरुन्तै कदम उठाउने र प्रचार प्रसारका लागि समेत सबैमा आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष घले बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्