भन्सार राजस्व ३ खर्ब १८ अर्ब

सरकारको मुख्य आम्दानीको स्रोत मानिने भन्सार राजस्व लक्ष्यको ४२ प्रतिशत न्युन संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख सम्मको १० महिने अवधिमा ५८ प्रतिशत मात्र राजस्व उठेपछि संकलनको अवस्था न्युन देखिएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर चालु आर्थिक वर्षको १० महिनामा भन्सार राजस्व ३ खर्ब १८ अर्ब रुपैयाँ मात्र उठेको छ ।
गतवर्षको सोही अवधिमा भन्सार राजस्व ४ खर्ब ५ अर्ब रूपैयाँ उठेको थियो । चालु आव र गतवर्षको सोही अवधिको राजस्व संकलनको अवस्थालाई हेर्दाँ यो वर्ष २७ प्रतिशतले कमी देखिएको छ । सरकारले १० वस्तुमा लगाएको प्रतिबन्ध र विगतको तुलनामा आयात पनि करिब १८ प्रतिशतले कमि आएको हुँदा चालु आवमा भन्सार राजस्वमा कमी आएको भन्सार विभागमा निर्देशक पुण्य बिक्रम खड्काले जानकारी दिए ।
पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएका वस्तु खुल्ला गरे पनि आयातमा सुधार नआएको हुँदा भन्सार राजस्व संकलनमा स्वतः असर परेको उनको भनाइ छ । चालु आवमा भन्सार राजस्व कम हुनको मुख्य कारण आयात घट्नु नै रहेको निर्देशक खड्काले जानकारी दिए । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि वैशाखसम्म अन्तर्राष्ट्रिय कुल व्यापार कारोबार १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ भएको छ । गतवर्षको तुलनामा यसपटक १६.७८ प्रतिशतले व्यापार कारोबारमा कमी आएको हो ।
गत वर्षको साउनदेखि वैशाखसम्ममा अन्तर्राष्ट्रिय कुल व्यापार १६ खर्ब ४ अर्ब रुपैयाँ रुपैयाँको करोबार भएको थियो । सरकारी निकायले आयात प्रतिबन्ध र आयात घट्दा भन्सार राजस्व संकलन कमी आउने केही सत्यता भए उक्त कारण नभएको पूर्व अर्थ सचिव कृष्ण हरि बास्कोटा बताउँछन् । पूर्व सचिव बास्कोटाकाअनुसार भन्सार राजस्व घट्नुमा खुल्ला सिमानाबाट हुने चोरी पैठारी, राजनीतिक अस्थिरता, विकास निर्माणमा कमी आउनु, एकै आर्थिक वर्षमा तीनवटा अर्थमन्त्री परिवर्तनले राजनीतिक नेतृत्व क्षमता आएको कमजोरीका कारण चालु आवको भन्सार राजस्व धेरै कम उठेको हो ।
राजस्व संकलन प्रणाली भन्दा राजनीति नेतृत्व प्रणालीमा आएको कमजोरीका कारण चालु आवमा समग्र राजस्व संकलन कमी आएको पूर्व सचिव बास्कोटाको भनाइ छ । सरकारले सबै भन्दा धेरै कर पेट्रोलियम पदार्थबाट उठाउने गरेको थियो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पेट्रोलियम पदार्थबाट उठाइने कर समेतमा कमी आएको छ । गत आवमा सरकारले १० महिनामा पेट्रोलियम पदार्थ आयात वापत ३१ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालुआवको सोही अवधिमा पेट्रोलियम पदार्थ आयात गरे वापत ३० अर्ब २१ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो गतवर्षको भन्दा १ अर्ब ५४ करोड रुपैयाँ कमी हो । चालु आवमा सरकारले १० महिनामा ५५ अर्ब ७९ करोड २५ लाख रुपैयाँको पेट्रोलियम पदार्थ खरिद गरेको छ । गतवर्ष ५४ अर्ब ८३ करोड ९६ लाख रुपैयाँको खरिद गरेको थियो । पेट्रोलियम पदार्थ आयात गर्दा राजस्व संकलन गतवर्षको भन्दा यसवर्ष कम उठे पनि पेट्रोलियम पदार्थको आयातमा गतवर्ष भन्दा यो वर्ष नेपाली मुद्रा ९५ करोड २९ लाख रुपैयाँ बढी बाहिरिएको छ । यसैगरी विभागको तथ्यांकअनुसार सवारीसाधनको आयातबाट भन्सार २७ अर्ब ९ करोड रूपैयाँ राजस्व उठाएको छ ।
गत वर्ष ७९ अर्ब ८६ करोड रूपैयाँ उठाएको थियो । यो गतवर्षको तलुनामा ५२ अर्ब ७७ करोड रूपैयाँ कम भएको हो । भन्सार विभागका निर्देशक खड्ककाअनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन भित्रिँदा राजस्व बढी हुन्छ । यसपटक पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधन कम भित्रिदा राजस्वमा कमी आएको हो । बिजुलीबाट चल्ने धेरै भित्रिए पनि यसमा लाग्ने कर तथा शुल्कहरू पेट्रोलियम तुलनामा धेरै कम छ । यसैले सवारीसाधन आयातको संख्याभन्दा राजस्वमा कमी देखिएको उनले जानकारी दिए ।