एक महिनामै अर्ब बढीको बीमा पोलिसी त्याग

चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् । अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण (त्याग) गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, जीवन बीमा कम्पनीहरूबाट बीमितहरूले साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेण्डर गरेका थिए । यस्तै भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हशजार ७४६ वटा बीमालेख सरेण्डर भएका थिए ।
त्यस्तै, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा, पुसमा ७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ वटा, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा र चैतमा १ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेखहरू बिमितहरूले त्याग गरेको प्राधिकरणको तथ्यांक छ ।
चैतमा मात्रै एक अर्बबढीको पोलिसी सरेण्डर
चालु आर्थिक वर्षको चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरूबाट १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरका ९ हजार ३५८ वटा बीमालेख त्याग भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरूले पोलिसी त्यागेका छन् । यस कम्पनीबाट २ हजार ६९८ वटा बीमालेखबापत ४२ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो । जुन, चैत महिनामा कुल सरेण्डर भएको बीमा पोलिसीमध्ये २८.८३ प्रतिशत हो ।
बीमा प्राधिकरणका अनुसार, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)को धेरै बीमालेखहरू सरेण्डर भएको छ । यस कम्पनीबाट बीमितहरूले १८ करोड ३७ लाख रुपैयाँ बराबरका १ ह जार ५५५ टा बीमालेख त्यागेका छन् । जुन कुल सरेन्डर पोलिसीको १६.६२ प्रतिशत हो । यसपछि राष्ट्रिय बीमा संस्थानबाट १० करोड ५६ लाख रुपैयाँ बराबरका १ हजार ४२३ वटा बीमालेख सरेण्डर भएका छन् ।
सूर्यजोति लाइफका १० करोड ४८ लाख रुपैयाँका ५२१ वटा बीमालेख सरेण्डर हुँदा नेशनल लाइफबाट ७ करोड ७३ लाख रुपैयाँका ६६२ वटा बीमालेख सरेण्डर भएका छन् । यस्तै मेट लाइफबाट ५ करोड ५८ लाख रुपैयँका ५२६, एशियन लाइफका ४ करोड २२ लाख रुपैयाँका ५८९ वटा तथा गुराँस लाइफका ७ करोड ६ लाख रुपैयाँका २७० वटा बीमालेख सरेण्डर भएका छन् ।
यस्तै प्राइम लाइफका २ करोड ८३ लाख रुपैयाँका ४४६ वटा बीमालेख सरेण्डर हुँदा आइएमई लाइफका १ करोड २४ लाख रुपैयाँका १४७, यूनियन लाइफका २ करोड ३२ लाख रुपैयाँका ७०, रिलायबल नेपालका ७५ लाख रुपैयाँका ११४, सिटिजन लाइफका १ करोड ३४ लाख रुपैयाँका १५१, प्रभु लाइफका ५४ लाख रुपैयाँका ३ वटा बीमालेख त्याग भएका छन् ।
यस्तै महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँका ३१ वटा बीमालेख सरेण्डर हुँदा र सानिमा रिलायन्सका ९१ लाख रुपैयाँका ८६ वटा पोलिसी त्याग भएका छन् । निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बिचमै रोकिएमा त्यसलाई बीमा पोलिसी त्याग (सरेण्डर) गरिएको मानिन्छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण बिमितहरूले पोलिसी सरेण्डर गर्ने गरेको बिमकहरू बताउँछन् ।
प्राधिकरणको निर्देशिका अनुसार, बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनु अघि बीमितले बीमालेख खरिद गरेको एक वर्षपछि आफ्नो बीमालेख त्याग अथवा समर्पण गर्न पाउँथे । प्राधिकरणले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरि तीन वर्षपछि पोलिसी समर्पण गर्न पाउने व्यवस्था गरेको छ ।
जसअनुसार, बीमितलाई बीमा पोलिसी समर्पण गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्नेछ । साथै सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने व्यवस्था प्राधिकरणले गरेको छ ।