सिन्धुपाल्चोकका किसान व्यावसायिक स्याउ खेतीमा

सिन्धुपाल्चोक- २०७२ सालको भूकम्पदेखि बन्द रहेको नेपाल–चीनबीचको तातोपानी नाका नखुलेपछि आसपासका बासिन्दाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि त्यसको समाधानका लागि स्थानीयले स्याउ खेती सुरु गरेका हुन् ।
भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बुधबार स्याउको बोट रोपेर व्यावसायिक स्याउ खेती अभियानको सुरुआत गरिन् । गाउँपालिकाकै अगुवाईमा स्थानीयले स्याउ खेती सुरु गरेका हुन् । अहिले गाउँपालिकाको वडा नं. १ स्थित लिस्तीबाट विरुवा रोप्न सुरु गरिएको हो ।
यो गाउँपालिकाका अधिकांश स्थानीयबासी तातोपानी नाकाबाट हुने कारोबारबाटै जिविकोपार्जन गर्दै आएका थिए । नाका बन्द भएपछि अधिकांश युवा विदेशिने र बसाईंसराईको क्रम बढेपछि गाउँमै आयआर्जनको विकल्प खोज्दा स्याउ खेती अभियान सुरु गरिएको हो । “स्याउले आम्दानी दिन थालेपछि कमाई गर्न बाहिर कतै जानु पर्दैन,” उपाध्यक्ष दाबुटीले भनिन्, “सिंगो गाउँपालिकाका स्थानीयलाई दीर्घकालीन रूपमा आर्थिक निर्भर बनाउन स्याउ खेती अभियानको थालनी गरिएको हो ।” उनले अहिले वडा नं. १ बाट सुरु गरिए पनि सबै वडामा स्याउ खेती विस्तार गरिने बताइन् । पाँचै वडामा स्याउ खेती लगाएर स्थानीयलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले चालीस लाख बजेटसमेत छुट्याएको छ ।
भारतको हिमाञ्चल प्रदेशबाट ल्याइएको गोल्डेन र रोयल प्रजातिको स्याउ लिस्तीमा लगाइएको हो । वडा नं. १ का अध्यक्ष मुके शेर्पाले प्रतिविरुवा २ सय २० रुपैयाँ परेको बताए । “कृषि क्षेत्रलाई प्राथमिकता दिएर नमुना वडा र गाउँपालिका निर्माणका लागि विभिन्न अभियान चलाइनेछ,” उनले भने, “स्याउ खेती कृषिमा पहिलोचरणको अभियान हो ।”
गाउँवासी पनि आफ्नो ठाउँलाई स्याउ खेतीको नमुना पकेट क्षेत्र बनाउने अभियानमा सरिक छन् । यो गाउँपालिकाको वडा नं. १ समुद्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा पर्छ । लिस्तीमा मौसम चिसो भए पनि जमिन भने सुक्खा छ । स्याउ खेती व्यावसायिक भएको र वडा कार्यालयको स्वामित्वमा रहने गरी यो खेती गरिएको हो ।
माटोको थप परीक्षण र प्राविधिक सल्लाहपछि स्याउ लगाइएको हो । गाउँपालिकाको अधिकांश भूभाग विकट हिमाली गाउँ पर्छ । वडाअध्यक्ष शेर्पाका अनुसार यो प्रजातिको स्याउ रोपेको पाँच वर्षमा उत्पादन दिन थाल्छ । बिरुवाको राम्रो स्याहार गरे ६० वर्षभन्दा माथिसम्म उत्पादन हुने शेर्पाको दाबी छ ।
किशोर बुढाथोकी