‘विप्लवलाई हतियार किन्न चन्दा नदिनुस्’

काभ्रे-सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’लाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । काभे्र उद्योग वाणिज्य संघको ४० औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले जतिसुकै धम्की त्रास देखाए पनि चन्दा नदिन अनुरोध गरे ।
मन्त्री बाँस्कोटाले भने, “उद्योगी व्यवसायीलाई मुलुकलाई हिंसा गराउन तपाईंहरु किन चन्दा दिनुहुन्छ ? चन्दा नदिनुहोस् । डर, धम्की, त्रास देखाए सरकारलाई भन्नुहोस् ।”
मन्त्री बाँस्कोटाले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई हतारमा आन्दोलनमा नजान अनुरोध गर्दै बाँस्कोटाले सरकार उद्योगी व्यवसायीहरुलाई समेत समेटेर अगाडि बढ्ने भन्दै कुरै नबुझी आन्दोलनमा नजान आग्रह गरे । देशलाई बलियो तथा समाजलाई सभ्य बनाउन सरकार लागेको भन्दै उनले देश निर्माणका लागि विदेशीको सहयोग पुँजी प्रविधिमा लगानी गर्न दिइने तर रकम भने आफ्नै देशको हितमा हुनेगरी खर्च गर्न पाइने जानकारी दिए ।
बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने उनले बताए । उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ । जसले हिंसा गर्छ, अन्तिममा त्यही हिंसाको शिकार बन्छ ।”
मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताए । उनले भने, “यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।” खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताए । “अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ,” उनले भने ।
कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गरे । “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा हुँदैन,” उनले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल र किशोर मानन्धर, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, वरिष्ठ उपाध्यक्ष प्रताव वैद्य, महासचिव कैलाश पलाञ्चोके लगायतले मन्तव्य राखेका थिए ।