पाइपलाइनबाट भित्रियो डिजेल

काठमाडौं-बारा-मुलुकमै पहिलोपटक पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएको छ । भारतीय लगानीमा बनेको मोतिहारी–अमलेखगञ्ज क्रसबोर्डर पाइपलाइनमार्फत बिहीबारदेखि पेट्रोलियम पदार्थ नेपाल भित्रिन थालेको हो । भारतीय आयल निगम (आईओसी)ले बुधवार दिउँसो २ बजे मोतिहारी डिपोबाट पठाएको डिजेल बिहीबार दिउसो ३ बजेपछि नेपालतर्फको पाइपलाइनमा प्रवेश गरेको हो ।
प्रक्रियागत रुपमा केही काम पूरा हुन बाँकी रहे पनि बिहीबार नै अमलेखगञ्जमा तेल आइपुगेको मोतिहारी–रक्सोल अमलेखगञ्ज पाइपलाइन परियोजनाका विज्ञ ई. शरद पौडेलले जानकारी दिए । उनले भने, “बुधबार दिउँसो मोतिहारीबाट पठाइएको डिजेल बिहीबार पाइपलाइनबाट निगमको अमलेगञ्ज डिपोमा आएको छ र यससँगै पाइपलाइन सुचारु भएको छ ।”
डिजल पठाउनुअघि आईओसीले दुई दिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गरेको थियो । उक्त परीक्षणमा कतै पनि चुहावट नभएको पाइएपछि डिजेल पठाएर पाइपलाइन सञ्चालनमा ल्याइएको परियोजनाले जनाएको छ ।
पाइपलाईनको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि बिहीबार १ लाख लिटर तेल नेपाल आइपुगेको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । “पहिलो चरणमा परीक्षणका लागि १ लाख लिटर तेल आएको छ,” उनले भने, “उद्घाटनपछि नियमितरुपमा तेल भित्रिनेछ ।” अगष्ट १५ भित्र पाइपलाइनको उद्घाटन गर्ने भनिए पनि अझै त्यसको मिति तोकिनसकेको उनले जानकारी दिए । अमलेखगन्ज डिपोमा खन्याइएकोतेल उद्घाटनपछि मात्रै भल्ब खोलेर डिजेल पाइपबाट भण्डारणगृहमा पठाइनेछ । पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ३९ सय किलोलिटर क्षमताका दुई वटा र ४१ सय किलोलिटर क्षमताका दुई वटा ट्यांकीमा पाइपबाट आएको तेल भन्डारण गरिने छ । ति ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको छ ।
पाइपलाईनबाट प्रतिघन्टामा दुई सय किलोलिटर तेल आयात हुने छ । दिनमा २४ घण्टा पाइपलाइन सञ्चालन गर्न सकिने भएपनि २० घण्टामात्र पाइपलाइनबाट तेल आपूर्ति हुने यादवले जानकारी दिए ।
निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुने अनुमान गरिए निर्माणका लागि निर्धारित समयअगावै सम्पन्न भएको हो । नेपालमा सञ्चालित प्राथमिकताप्राप्त परियोजनामध्ये सबैभन्दा छिटो सम्पन्न हुनेमा पेट्रोलियम परियोजना भएको छ । ८० किलोमिटर लामो पाइपलाइन परियोजनाको ३६ किलोमिटर नेपालले निर्माण गरेको छ । बाँकी भारततर्फको पाइपलाइन आइओसीले निर्माण गरेको हो । पाइपलाईनबाट तेल ल्याउँदा ढुवानीवापत २ अर्ब रुपैयाँ बचत हुनेछ ।
ढुवानी खर्च बचत भएपछि उपभोक्ताले पनी केही सस्तो मूल्यमा तेल पाउनेछन् । रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने गर्छ । बरौनी र रक्सोल नाकाबाट इन्धन ढुवानी गर्दा अहिले २ अर्ब ३५ करोड लागत लाग्ने गरेको छ ।
नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) लागतमा सम्पन्न भएको छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी छ । पाइप लाइन परियोजना निर्माणका लागि ७ भदौ ०७२ मा पाइपलाइन निर्माणका लागि भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका तर्फबाट तत्कालीन आपूर्तिमन्त्री सुनील थापाबीच काठमाडौंमा सम्झौता भएको थियो ।
पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहे पनि कार्यक्रम निश्चित भइसकेको छैन ।
लक्ष्मी सापकोटा-प्रकाश लम्साल