Logo

बढी बेरुजू नगरपालिकामा

स्थानीय तहको बेरुजु रकम ४८ करोड ४६ लाखभन्दा बढी रहेको छ । महालेखा परीक्षकले गरेको आर्थिक वर्ष २०७८/७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार गाउँपालिकाभन्दा नगरपालिकाको बेरुजू रकम र प्रतिशत दुवै बढी रहेको हो । नौवटा स्थानीय तह रहेको दोलखामा कुल ४८ करोड ४६ लाख १८ हजार रकम बेरुजु रहेको महालेखाको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाका स्थानीय तह मध्ये रकमका हिसावले सबैभन्दा बढी बेरुजु भीमेश्वर नगरपालिकाको रहेको छ । सबै भन्दा कम बैतेश्वर गाउँपालिकाको छ । प्रतिवेदन अनुसार भीमेश्वरको बेरुजु रकम ८ करोड ५९ लाख ७८ हजार रुपैंयाँ रहेको छ भने बैतेश्वर गाउँपालिकाको ३ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

जिल्लाका अन्य स्थानीय तह अन्तर्गत जिरी नगरपालिकाको ५ करोड ६१ लाख ४० हजार, विगु गाउँपालिकाको ५ करोड ४२ लाख १ हजार र कालिञ्चोक गाउँपालिकाको ६ करोड ३८ लाख ८१ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै तामाकोसी गाउँपालिकाको ६ करोड ३८ लाख ८१ हजार, गौरीशंकर गाउँपालिकाको ४ करोड ७५ लाख ३६ हजार, शैलुङ गाउँपालिकाको ३ करोड ५८ लाख ८ हजार र मेलुङ गाउँपालिकाको ४ करोड २५ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको महालेखाले जनाएको छ ।

लेखापरीक्षण गरिएको रकमको प्रतिशतका हिसावले जिरी नगरपालिकाको बेरुजु सबै भन्दा बढी रहेको छ । जिरी नगरको बेरुजु ४.७८ प्रतिशत रहेको छ भने बैतेश्वरको सबैभन्दा कम २ .६९ प्रतिशत रहेको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा शैलुङ गाउँपालिकाको ३.०५, गौरिशंकरको ३.७७ तथा मेलुङको ३.७८ प्रतिशत बेरुजु रहेको छ ।

त्यसैगरी भीमेश्वर नगरपालिकाको ३.९२, कालिञ्चोक गाउँपालिकाको ४.३६, तामाकोसी ४.२ तथा विगु गाउँपालिकाको ४.८५ प्रतिशत बेरुजु देखिएको छ । जिल्लाका नौ स्थानीय तहको औषत बेरुजु रकम ३.९ प्रतिशत रहेको छ । सरकारी भुक्तानीमा कागजात र प्रक्रिया नपुगेमा बेरुजू राख्ने गरेको छ । कतिपय बेरुजू कागजी प्रक्रिया पूरा गरेर फछ्यौंट गर्न मिल्छ भने कतिपय असुलउपर गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्