Logo

बढ्दो खराब कर्जा र बैंकिङ क्षेत्र

मुलुकका विभिन्न क्षेत्रमध्ये बैंकिङ क्षेत्रलाई मजबुत र स्वस्थ मानिँदै आएको छ । तर, यो वर्ष अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव यो क्षेत्रमा पनि देखिएको छ । चालू वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औसतमा ३ प्रतिशतभन्दा माथि पुगेको छ ।

चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार २१ वाणिज्य बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ३१ अर्ब ३२ करोड ६ लाख प्रोभिजन गर्नुपरेको छ । गत वर्ष चैतसम्ममा वाणिज्य बैंकहरूले ७ अर्ब १ करोड यस्तो प्रोभिजन गरेका थिए । दुई वर्षको तथ्यांक तुलना गर्दा यो झन्डै पाँच गुणा बढी देखिन्छ ।

बैंकहरूले कर्जा प्रवाह गरेपछि केही न केही रूपमा सबै कर्जाको प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कर्जालाई विभिन्न वर्गमा वर्गीकरण गरेर त्यसअनुसार प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार जोखिम नभएको असल कर्जाकै लागि पनि १.३ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

त्यसपछि कर्जाको वर्गअनुसार ५, २५, ५० र १ सय प्रतिशत प्रोभिजन गर्नुुपर्छ । अहिले सबैभन्दा धेरै प्रोभिजनमा रकम राख्ने पाँच बैंकमा कुमारी ३ सय ९६ करोड, नबिल ३ सय ३३ करोड, ग्लोबल आईएमई २ सय ७१ करोड, हिमालयन २ सय ४५ करोड र सिद्धार्थ २ सय १६ करोड छन् । २१ वाणिज्य बैंकमध्ये ११ को खराब कर्जा अनुपात ३ देखि ४ प्रतिशतको बीचमा छ भने तीन बैंकको खराब कर्जा अनुपात ४ प्रतिशत नाघेको छ ।

बैंकिङ प्रणालीमा यो समस्या आउनुको मुख्य कारण यो वर्ष अर्थतन्त्रमा आएको अवस्था हो । गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्र र यो वर्ष आन्तरिक क्षेत्रमा संकुचन आउँदा त्यसको असर अहिले बैंकिङ क्षेत्रमा परेको छ । निजी क्षेत्रले यो सबैको दोष ब्याजदरलाई लगाएको छ । ब्याजदर बढेका कारण उत्पादन महँगो भएको र उपभोगमा कमी आउँदा अर्थतन्त्र सुस्त भएको उसको भनाइ छ ।

उद्योग–व्यवसाय नचलेपछि स्वभावैले व्यवसायीले कर्जाको साँवा र ब्याज तिर्न सकेका छैनन् । तर, बैंकरहरू ब्याजदर उच्च भएका कारण मात्रै कर्जा नउठेको मान्न तयार छैनन् । यसमा बजारको तरलता अवस्था, बाह्य क्षेत्रमा दबाब, संसारभरको मूल्यवृद्धि, उपभोगमा आएको कमी र समग्रमा अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुली नभएको र त्यसले बैंकिङ प्रणालीमा समस्या आएको हो ।

समस्या आउनुमा कारण जे–जस्ता भए पनि गत वर्षको तुलनामा अहिले १ सय प्रतिशतभन्दा बढीले एनपीए बढ्नु अवश्य सानो कुरा होइन । हुन त यो वर्ष केही ठूला बैंक मर्जरमा गएपछि कर्जा वर्गीकरणमा समस्या भएकाले पनि खराब कर्जा बढेको आकलन गरिएको छ । तर पनि यो तथ्यांकले आगामी दिनमा बैंकहरूलाई सचेत हुन संकेत गरेको छ ।

प्रोभिजन रकम बढाउँदै जानुपर्ने अवस्था आए आगामी दिनमा बैंकको कर्जा दिन सक्ने क्षमता घट्दै जानेछ । नयाँ कर्जा प्रवाह घट्दै गए फेरि अर्थतन्त्रमा समस्या आउने जोखिम रहन्छ । अर्कातिर प्रोभिजन बढ्दै जाँदा नाफामा समेत धक्का लाग्नेछ । अघिल्लो वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या आएको थियो । यो वर्ष त्यो समस्या समाधान भए पनि आन्तरिक पाटोमा झनै ठूलो समस्या आएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बैंकिङ क्षेत्रले प्रवाह गरेको कर्जा फिर्ता नआउँदा समस्यामा जाने पालो अब कतै बैंकिङ क्षेत्रको त होइन भन्ने आशंका जन्मिएको छ । यो वर्ष समग्र बैंकप्रति पनि उद्योगी–व्यवसायी र सर्वसाधारणको नकारात्मक धारणा विकास हुँदै गएको छ । सबैलाई समस्या पर्दा बैंकहरू भने सधैं उच्च नाफामा जाने गरेको आरोप लाग्ने गरेको छ ।

कतिपयले बैंकरहरूलाई टाइसुट लगाएका गुन्डाको संज्ञा पनि दिने गरेका छन् । यसले समग्रमा बैंकको ‘इमेज’ लाई खराब गर्दै लगेको छ । बैंकप्रतिको धारणालाई बचाइराख्न सचेत हुनु जरुरी छ । अहिलेको निष्क्रिय कर्जाको अवस्था त्यति धेरै ठूलो प्रतिशत त होइन, तर विगतमा निष्क्रिय कर्जा १ प्रतिशत हाराहारीमा रहेकोमा ३ प्रतिशतमाथि पुग्नुले केही संकेत भने अवश्य गरेको छ ।

एउटा विषय के सत्य हो भने खराब कर्जा बढ्दै गए पनि तत्काल बैंकिङ क्षेत्रमा समस्या आउने देखिँदैन । यसका दुईवटा बलिया कारण छन् । पहिलो कर्जा दिँदा बैंकले धितोका रूपमा घरजग्गा राखेका छन् । कर्जा नउठे पनि बैंक बलिया छन् । घरजग्गा लिलाम गरेर बैंकले आफ्नो कर्जा असुली गर्न सक्छन् । घरजग्गामा अहिले केही मन्दी आए पनि यो सधैं रहँदैन ।

विदेशमा जस्तै घरजग्गा खरिदबिक्री आवासका लागि नभएर यहाँ व्यवसायका रूपमा गरिँदै आएका कारण यसको मूल्य घट्ने सम्भावना पनि निकै कम छ । त्यसैले धितो रहुन्जेल बैंकको कर्जा पनि सुरक्षित छ । अर्कातिर बैंकहरूसँग करिब ३० प्रतिशत तरल सम्पत्ति अझै छ । बैंकमा समस्या आएको हल्ला चलाएर निक्षेपकर्ता डिपोजिट फिर्ता गर्न आए पनि दिन नसक्ने अवस्था छैन ।

यो भन्नुको तात्पर्य खराब कर्जा बढ्दै जाँदा बैंक सचेत हुनु पर्दैन भन्ने होइन, खराब कर्जाको बढ्दो ग्राफले स्वस्थ बैंकिङ प्रणालीमा प्रश्न उठाएको छ । यसमा बैंकरहरू सचेत हुनैपर्छ । यसको विकल्प छैन । नयाँ कर्जा प्रवाहमा बैंकहरू अझै बढी होसियार बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्