तातोपानी नाका खोल्ने विषयले उब्जाएको प्रश्न

उत्तरी छिमेकी मुलुक चीनले नेपालको राजनीतिक मामिलामा चासो दिने गरे पनि दुई मुलुकबीचको वैदेशिक व्यापारमा खुला हृदयले सहयोग गरेको देखिँदैन । दुई मुलुकबीचको व्यापारका लागि खोलिएका सीमा नाकाहरू सधैं चीनकै कारण समस्यामा पर्ने गरेका छन् । चीनले नेपालमा सामान निर्यातका लागि धेरै अवरोध नगरे पनि नेपाली सामान आयातको सवालमा विभिन्न झन्झट पैदा गर्दै आएको छ ।
दक्षिणी छिमेकी भारतमा जसरी चीनमा नेपाली सामान पठाउन व्यवसायीलाई गाह्रो हुने गरेको छ, पछिल्लो आठ वर्षयता दुई मुलुकको व्यापारमा झनै समस्या देखिँदै आएका छन् । २०७२ वैशाख १२ मा आएको भूकम्पको अर्को दिन नै चीनले अचानक तातोपानी–खासा नाका बन्द गरेको थियो । यो दुई मुलुकबीचको सबैभन्दा धेरै व्यापार हुने भन्सार नाका हो । तर, भूकम्प आएको आठ वर्ष बित्दा पनि त्यो नाका दुई मुलुकबीचको व्यापारमा पूर्णतः खुल्न सकेको छैन ।
नेपाल सरकार र निजी क्षेत्रले बारम्बार यो नाका सुचारु गर्न अनुरोध गरे पनि चीनले सुन्न नै चाहेन । बारम्बारको अनुरोधपछि डेढ वर्षअघि चीनले नाका सुचारु त गर्यो, तर देखाउनका लागि मात्र । दैनिक दुई–चार थान कन्टेनर आवतजावतभन्दा यो नाकाबाट अरू कसैलाई जान/आउन दिइएन । विगतमा यो नाका भएर वार्षिक लाखौं धार्मिक पर्यटक मानसरोवरसम्म पुग्ने गरेका थिए भने नजिकैको खासा बजार गुल्जार रहन्थ्यो । यही नाकाबाट तिब्बतका विभिन्न क्षेत्रमा जाने पर्यटक र अन्य व्यक्तिहरू पनि हुन्थे ।
विगतमा दुई मुलुकबीचको व्यापार र पर्यटनमा यो नाका व्यस्त हुने गरे पनि लामो समयसम्म चीनले यसलाई अस्तित्वविहीन बनाएर राखेको थियो । अहिले आठ वर्षपछि आएर चीन यो नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सहमत भएको छ । हालै दुई मुलुकबीचका अधिकारीहरूको बैठकमा चीन यो नाका पूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको भनिएको छ ।
यही वैशाख १८ देखि तातोपानी नाका खुल्ने गरी दुवै मुलुकबीच मौखिक सहमति बनेको बताइएको छ । पछिल्ला वर्षहरूमा चीनले नेपालसँगको व्यापारमा खासै रुचि देखाएको छैन । व्यापारको साटो चीनको रुचि नेपालको घरेलु राजनीतिमा बढी छ । त्यसैले यो सहमति पालना हुनेमा भने शंका गर्ने ठाउँ बनेको छ । नेपाल र चीनबीचको अर्को प्रमुख व्यापारिक नाका रसुवागढी पनि कोभिड महामारीको नाममा चीनले लामो समयसम्म बन्द गराएको थियोे ।
चीनले अन्य मुलुकहरूसँगको व्यापारिक सम्बन्धलाई सुचारु राख्दा पनि रसुवागढी नाकालाई कोभिडकै बहानामा बन्द गराइरहेको थियो । लामो समयसम्मको अनुरोधपछि गत चैत १८ बाट यो नाका फेरि पूर्ण रूपमा खुलेको छ । कन्टेनरसहित मानव आवागमन पनि सुरु भएको छ । रसुवागढी नाका खोले पनि चीनले तातोपानी नाकालाई मानव आवागमनसहित पूर्ण रूपमा खोल्नेमा भने शंका छ ।
भूकम्पको नाममा यो नाका लामो समयसम्म बन्द गर्नुपर्ने अवस्था थिएन । यसमा चीनको आफ्नै आन्तरिक राजनीतिक गन्ध देखिएको छ । चीन नाका खोल्न अनिच्छुक हुनुको प्रमुख कारण काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासास्थित चिनियाँहरूको संलग्नताको आशंका हो । खासाका चिनियाँ व्यापारीहरूले लामो समयदेखि फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाइ चीन सरकारको छ ।
यही कारण चीनले अब कुनै पनि व्यापारीलाई खासामा पुनर्स्थापित गर्न चाहेको छैन । खासा बजारलाई नखोलेका कारण चीनले यो नाकालाई बढी प्राथमिकता नदिएको हो । रसुवागढी र तातोपानी दुवै नाका सञ्चालनमा आए नेपालले चीनसँगको व्यापारबाट केही लाभ लिन सक्नेछ । चीनले नेपाललाई ८ हजारभन्दा बढी वस्तुको निकासीमा भन्सार छुट सुविधा दिएको छ ।
चालू आवमा नेपालको निकासी व्यापारमा गिरावट आएको बेला चीनसँगको व्यापारले राहत पुर्याउन सक्छ । तर, यसका लागि भन्सार नाका र व्यापारिक गतिविधिमा अवरोध हुनु हुँदैन । चीनले नेपालसँगको व्यापारमा आफ्नै तरिकाबाट नाका बन्द गर्ने र खुलाउने गर्दै आएको छ । दुई मुलुकबीचको व्यापार भए पनि नाकाका सवालमा चीनको निर्णय एकपक्षीय हुने गरेको छ । नाका खोल्ने र बन्द गर्दा सामान्य सूचना समेत दिँदैन ।
यस अर्थमा चीनले हेपाहा प्रवृत्ति देखाउँदै आएको छ । नाकामा रहने वा वार्तामा बस्ने चिनियाँ अधिकारीहरूले माथिको निर्णय मात्र भन्ने गर्छन् । नेपाली अधिकारीहरूको माथिसम्मको पहुँच नपुग्दा समस्या सधैं अन्योलको वातावरण हुने गरेको छ । यस्ता क्रियाकलापले व्यापारिक गतिविधिमा समस्या ल्याउने गरेको छ ।
चीनले नेपालसँगको व्यापारमा के चाहेको हो ? भन्ने वर्षौंदेखि व्यापार भए पनि अझै स्पष्ट हुन सकेको छैन । त्यसैले अहिले मौखिक रूपमा तातोपानी–खासा खोल्ने सहमति बने पनि सञ्चालनमा आउने दिनसम्म अथवा अर्को कुनै बेला बन्द भयो भन्ने सूचना नआउला भन्न सकिँदैन । त्यसैले तातोपानी नाका सञ्चालनमा आशाप्रद हुन सकिएला, ढुक्क हुन सकिँदैन ।