इजरायलमा नेपाल इभिनिङ कार्यक्रम

नेपाल पर्यटन बोर्ड र इजरायलस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा फेब्रुअरी ४ मा नेपाल इभिनिङ कार्यक्रमको आयोजना गरिएको छ । यस कार्यक्रममा सयौंको संख्यामा इजरायलस्थित विदेशी नियोगका महामहिम राजदूतहरू, कूटनीतिक कर्मचारीहरू, स्थापित इजरायली पर्यटन व्यवसायीहरू, नेपाली समुदायको सक्रिय सहभागिता थियो ।
इजरायलमा आयोजना हुन गइरहेको महत्वपूर्ण र खाडी क्षेत्रकै ठूलो पर्यटन मेला आईएमटीएम २०१८ को पूर्वसन्ध्यामा तेल अभिवको शेराटन होटलमा आयोजित कार्यक्रममा नेपाली पर्यटनसँग सम्बन्धित विशेषज्ञ व्यक्तिहरूले प्रस्तुतीकरण गरेका थिए ।
नेपाल पर्यटन बोर्डबाट बनाइएको गन्तब्य प्रबद्र्धनात्मक भिडियोको प्रस्तुतिसहित कार्यक्रमको सुरुवात गरिएको थियो । नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले सहभागीहरूलाई स्वागत गर्दै पर्यटकीय क्रियाकलाप विश्व भाइचारा र शान्तिका लागि आवश्यक भएको बताए । नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि तथा यस क्षेत्र कै सुपरिचित पर्वतारोही नादाव वेन यहुदाले आफ्नो प्रस्तुतिमार्फत नेपालका हिमालहरू विश्व मै अलौकिक रहेकाले साहसिक पर्वतारोहीका लागि जानै पर्ने मूलुकका रुपमा नेपाल रहेको बताए ।
सो अवसरमा तीन पटकसम्मको सफल सगरमाथा आरोही प्रथम महिला माया शेर्पाले आफ्नो अनुभव सुनाउँदै नेपालका हिमालमात्र हैन नेपालीहरू पनि उत्तिकै अविष्मरणीय छाप छोड्न सफल रहेको बताइन् । पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले नेपालको पर्यटन गन्तव्यहरू र कसम्पदाहरूको बारेमा प्रस्तुति दिँदै पर्यटनमा मनमा चिताएको कुरा पूरा गर्न सकिने एक मात्र गन्तव्य नेपाल रहेको बताए ।
इजरायलका लागि महामहिम नेपाली राजदूत निरञ्जनकुमार थापाले भूकम्पपश्चात् भएका पर्यटन प्रबद्र्धनका कार्यक्रमहरूको चर्चा गर्दै नेपाली दूतावास नेपालको पर्यटन प्रबद्र्धनमा कटिबद्ध रहेको जानकारी गराए । कार्यक्रममा सहभागीहरूलाई नेपाली र्सास्कृतिक कार्यक्रमको प्रस्तुतिका साथै नेपाली खाना पनि खुवाइएको थियो । नेपाल पर्यटन बोर्डले प्रत्येक सहभागीका निम्ति नेपाली कागजको डायरी, कार्ड ड्राइभलगायतको प्रचरात्मक सामग्री उपलब्ध गराएको थियो ।