थप नगद अनुदान माग

नेपाल उद्योग परिसंघले स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान दिन माग गरेको छ । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुमार्फत स्वदेशी सदस्यहरुको समस्या एवं समाधानका विषयमा आयोजना गरेको कार्यक्रममा परिसंघले त्यस्तो माग गरेको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुको खपत बढाउनुपर्ने बताए । उनले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी व्यवसायीमा उत्साहप्रद वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघ लागि परेकोमा जोड दिएका थिए । अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरुलाई हतोत्साहित बनाएको उनको भनाइ थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले स्वदेशी वस्तुहरुको प्रयोग बढाउँदै निर्यात प्रवर्द्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताए । उनले स्वदेशी उद्योगको प्रवर्द्धनका लागि अवैध कारोबार रोक्नुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर थप फरक पार्नुपर्ने सुझाव कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले स्वदेशी उद्योगको प्रवर्द्धनका लागि आगामी बजेटमार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन पनि आग्रह गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको समन्वय अपरिहार्य रहेकोमा जोड दिए । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतमा झरेको भन्दै जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
सो अवसरमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले मेक इन नेपाल स्वदेशीको सामूहिक ट्रेड मार्क दिने प्रक्रिया जतिसक्दो चाँडो टुंगोमा पुर्याइने बताए । कार्यक्रममा स्वदेशी सदस्यहरुले उठाएका ड्यूटी ड्र ब्याकमा देखिएको समस्या आगामी बजेटमार्फत सम्बोधन हुने विश्वास दिलाइएको थियो ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकार समेतको सहभागितामा नेपाल उद्योग परिसंघले संचालन गरेको मेक इन नेपाल स्वदेशी अभियानमा सहभागी स्वदेशी उद्योगी व्यवसायीहरुको समस्या, ठोस रुपमा समाधानको उपायसहित सदस्यहरुबीच नेटवर्किङ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको धारणा राखेका थिए । सो अवसरमा उद्योग सचिव डा. ज्ञवाली र परिसंघका अध्यक्ष अग्रवालले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ समेत गरेका थिए ।