वैशाख २२ देखि चितवन महोत्सव

तीन दिने सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी वैशाख २२ देखि २४ सम्म चितवनमा हुने भएको छ । चितवनका उद्योगीको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फुटेक्स ट्रेड फेयर एण्ड इभेन्टसको व्यवस्थापकीय साझेदारीमा सो महोत्सव हुन लागेको हो ।
सोमबार परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे विस्तृत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए । कठिन परिस्थितीमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।
प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे । प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए ।
यी उद्योगलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने पनि परिसंघले जनाएको छ । निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यवसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकको उपस्थिति रहेको थियो ।