Logo

आयोजना निर्माणमा लापरबाही भएपछि प्राधिकरणको पहल

११ कम्पनीसँगकाे ठेक्का रद्द हुँदै

नेपाल विद्युत प्राधिरणले ११ निर्माण व्यवसायी कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने तयारी गरेको छ । विभिन्न आयोजना निर्माण गर्ने ठेक्का लिएर सम्झौता बमोजिम समयमै कार्य सम्पन्न नगरेपछि त्यस्ता ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतको डोटी वितरण केन्द्रले विभिन्न आयोजना निर्माणका लागि दिएका ११ वटा ठेक्का रद्द गर्ने तयारी गरेको छ । डोटी वितरण केन्द्रका अनुसार निर्माण कार्य ढिलाई गर्ने र सम्पर्कबिहीन भएकाले ती ठेकेदार कम्पनीको बाँकी ठेक्का रद्दका लागि ७ दिने सूचना दिएको छ ।

ठेकेदारको लापारबाहीले समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको केन्द्रले बताएको छ । केन्द्रका प्रमुख शिवशंकर सोनीले विभिन्न स्थानीय तहका विभिन्न स्थानमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएका ११ कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्न लागिएको जानकारी दिएका छन् ।

“ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक–पटक लिखित तथा मौखिम जानकारी गराउँदा पनि निर्माण कार्य सम्पन्न गर्न सकेनन्, उल्टै सम्पर्कमा समेत नआएपछि ठेक्का रद्दको सूचना निकालेका हौं,” उनले भने, “सूचना निकालिसकेपछि केही ठेकेदार कम्पनीले भने मौखिक रुपमा कार्य सम्पादन गर्ने बताएका छन्, तर यी कम्पनीलाई सात दिनको समय दिँदै ठेक्का सम्झौता रद्द नगर्नुपर्ने कारण पेश गर्न निर्देशन दिएका छौं ।”

उनका अनुसार रद्द गर्न लागिएका ठेक्का सम्झौतामा आदर्श गाउँपालिकाका विभिन्न स्थानमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको डोटीको नेत्र निर्माण सेवा रहेको छ । त्यस्तै, नेत्र निर्माण सेवासँग भएका अन्य दुई ठेक्का गरी तीन ठेक्का रद्द गर्न लागिएको छ । सायल गाउँपालिका र बोगटान गाउँपालिकामा पनि सोही कामको ठेक्का सम्झौता भएको नेत्र निर्माण सेवासँगको सम्झौता रद्द गर्न लागिएको छ ।

बोगटान गाउँपालिका र बडीकेदार गाउँपालिकाका विभिन्न स्थानमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको मा भगवती निर्माण सेवासँगको दुई ठेक्का सम्झौता रद्द गर्न लागिएको छ । त्यस्तै, जोरायल गाउँपालिकामा सोही किसिमको आयोजनाको सम्झौता भएको धुलिखेल एलबी एण्ड एबी जेभी, जोरायल गाउँपालिकाकै विभिन्न स्थानहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको एलबी, एबी/मा भगवती जेभी रहेका छन् ।

त्यसैगरी सायल गाउँपालिकाका विभिन्न स्थानमा आयोजनाको ठेक्का पाएको ॐ वीरभद्र निर्माण कन्स्ट्रक्सनसँगको पनि ठेक्का रद्द गर्ने प्राधिकरणको तयारी छ । केन्द्रका अनुसार ठेक्का रद्द हुनेमध्ये जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिकामा आयोजनाको ठेक्का पाएको मा भगवती निर्माण सेवा रहेको छ । जोरायल गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लगायतमा आयोजनाको ठेक्का पाएको मनकामना निर्माण सेवा एण्ड अर्डर सप्लायर्सको पनि ठेक्का रद्द हुन लागेको छ ।

बडिकेदार गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा ठेक्का सम्झौता भएको एसएस कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौता रद्द गर्न लागिएको केन्द्रले जनाएको छ । यी निर्माण व्यवसायी तथा कम्पनीले तोकिएको समयमा काम नसकेको र हालसम्म पनि काम सन्तोषजनक नदेखिएकाले उनीहरुसँग भएको ठेक्का रद्द गर्न लागिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्