‘भुक्तानी अभावका कारण निर्माण उद्योग संकटमा’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पारे । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताए ।
‘सरकार र निर्माण व्यवसायी पक्ष-प्रतिपक्षी होइनन्, मिलेर काम गर्नुपर्छ’ मन्त्री ज्वालाले भने । निर्माण व्यवसायीको समस्याबारे सरकार जानकार रहेको स्पष्ट पार्दै मन्त्री ज्वालाले निर्माण व्यवसायी मैत्री ऐन कानून निर्माणका लागि पहल गर्ने बताए । राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध गर्दै काम गर्न उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त असहज अवस्थामा रहेको मन्त्री ज्वालालाई जानकारी गराए । निर्माण व्यवसायीको भुक्तानी रोकिँदा त्यसको गम्भीर असर राज्यको ‘सप्लाई चेन’ मै परेको भन्दै अध्यक्ष सिंहले व्यवसायीहरूले २० प्रतिशत मोबिलाइजेशन पेस्की रकम पाउनुपर्ने माग गरे ।
हालै राजधानीमा सम्पन्न महासंघको २४ औं साधारण सभाबाट पारित घोषणापत्र मन्त्री ज्वाललाई हस्तान्तरण गर्दै अध्यक्ष सिंहले घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराए । निर्माण व्यवसायसँग सम्बन्धित् ऐन, कानून संशोधन गर्दा सरोकारवाला सबैलाई अनिवार्य संलग्न गराउन अध्यक्ष सिंहले आग्रह गरे ।