२५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व

स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्यामध्ये २५ प्रतिशत महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाइएको हो ।
स्याङ्जाको परिवार संख्या ६८ हजार ९५९ रहेकोमा १७ हजार ६३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ । जिल्लाको कुल जनसंख्या दुई लाख ५३ हजार २४ मध्ये ५३ दशमलव ९ प्रतिशत अर्थात् एक लाख ३६ हजार ३४६ महिला छन् भने ४६ दशमलव १ प्रतिशतले हुने एक लाख १६ हजार ६७८ पुरुष छन् । सम्पत्तिका तीन किसिममा महिलाको स्वामित्व फरक फरक छ ।
जग्गामा मात्रै स्वामित्व रहेको संख्या आठ हजार ३७३ छ भने घर सम्पत्तिमा दुई हजार ९५ महिलाको स्वामित्व छ । घर र जग्गा दुवै सम्पत्तिमा स्वामित्व रहेको महिलाको संख्या सात हजार १६३ रहेको छ । प्रतिघरपरिवार ३ दशमलव ६७ संख्या रहेको स्याङ्जामा ७१ प्रतिशत अर्थात् ४८ हजार ९१५ परिवारको सम्पत्ति पुरुषको स्वामित्वमा छ ।
जनगणनाअनुसार ३ दशमलव ४ प्रतिले हुने दुई हजार ३७७ परिवारले सम्पत्तिमा स्वामित्व महिला र पुरुष दुवै विवरण उल्लेख गरेका छैनन् । जिल्लामा ६० हजार ८७४ परिवार आफ्नै घरमा बसोबास गर्ने गरेका छन् भने सात हजार १५९ परिवार भाडामा बस्दै आएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार माटोको घरमा ४४ हजार ३६० परिवार बसोबास गरेका छन् भने ढुंगा र इँट्टाको घरमा १४ हजार ४१७ र सिमेन्ट ढलानको घरमा ९ हजार ८१४ परिवार बस्दै आएका छन् । सम्पत्तिमा २५ प्रतिशत स्वामित्व रहेका स्याङ्जाका अधिकांश अर्थात् ३६ प्रतिशत महिलाले सरदर १९ वर्षमा विवाह गरेको तथ्यांकमा देखिन्छ ।
विवाह दर्ताका आधारमा १६ वर्षमा २७ प्रतिशत र २२ वर्षको उमेरमा १८ प्रतिशत महिलाले विवाह गरेको देखिन्छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको संख्या जिल्लामा एक हजार २३३ पुरुष हुँदा नौ हजार ७१ महिला रहेका छन् । पुरुष ९० र महिला साक्षर ७५ प्रतिशत रहेको जिल्लामा कुल साक्षर दर झण्डै ८२ प्रतिशत रहेको छ ।
१० जोड २ वा सो सरह उच्च तह उत्तीर्ण कुल ३८ हजार ९१ जनामध्ये मानविकी तथा सामाजिकमा एक हजार ४६५, व्यवस्थापन संकायमा ६ हजार ३०२, शिक्षामा आठ हजार ८५३, विज्ञान विषयमा ५८२, स्वास्थ्य तथा चिकित्साशास्त्रमा ४८६ र इन्जिनियरिङ अध्ययनमा ७२ गरी १७ हजार ७६० महिलाले उच्च शिक्षा हासिल गरेको देखिन्छ ।