काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यल २४ औं फ्लोरा एक्स्पो गर्न लागिएको बताए । उनले पुष्प प्रवर्द्धनले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए । उनले एक्स्पोमा ६२ वटा व्यवसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए ।
उनले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिने बताए । उनले प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने बताए ।
त्यस्तै, एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । उनले प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई एकसय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए । प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरु आयात गरेर ल्याउने गरेको बताए ।